तीन दिनभित्र कागजपत्र बुझाउन मोर्गन स्कुललाई कामपाको निर्देशन


काठमाडौं । काठमाडौं महानगरपालिकाले वसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुललाई तीन दिनभित्र आवश्यक कागजपत्र बुझाउन निर्देशन दिएको छ ।
उक्त विद्यालयमा अनुगमन गर्दा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेपछि तीन दिनभित्र आवश्यक कागपत्र पेस गर्न निर्देशन दिइएको कामपा सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिए । उनका अनुसार विद्यालयलाई तीन दिनभित्र २२ क्षेत्रसँग सम्बन्धित कागजात पेस गर्न निर्देशन दिइएको छ । अन्यथा कानुनबमोजिम अगाडि बढ्ने चेतावनी समेत कामपाले दिएको छ ।
कामपा सहरी योजना आयोग, राजस्व विभाग, कृषि तथा पशुपन्छी विभाग, सार्वजनिक निर्माण विभाग, सहरी व्यवस्थापन विभाग र शिक्षा विभागको संयुक्त टोलीले विद्यालयको अनुगमन गरेको थियो । अनुगमनको मुख्य उद्देश्य छात्रवृत्ति कार्यक्रम, शुल्क संरचना र नियामक मापदण्डको पालनाबारे रहेको झाले जानकारी दिए ।
सहरी योजना आयोगका सदस्य झाले अनुगमनका क्रममा छात्रवृत्ति कार्यक्रमको जाँचबाट सुरु गरिए पनि विद्यालयमा अन्य कैयौँ समस्या फेला परेको बताए । “हामीले विद्यालयमा अनुगमन सुरु गरेपछि विभिन्न अनियमितता देख्यौँ, संयुक्त टोलीको अनुगमनपश्चात विद्यालयको सञ्चालन, भौतिक पूर्वाधार र वैधानिकतामाथि नै प्रश्न उठ्यो”, झाले भने ।
कामपा शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले छात्रवृत्ति पाउने विद्यार्थीबाट शुल्क लिइएको र विद्यालयले रु २४ देखि ३० हजारसम्मको शुल्क माग गरेको गुनासो प्राप्त भएपछि अनुगमन गरिएको बताए । उनका अनुसार विद्यालयको भौतिक पूर्वाधार, चमेनागृह सञ्चालनमा समेत कमजोरी फेला परेको छ ।
“यसअघि हामीले विद्यालयलाई तोकिएभन्दा बढी शुल्क फिर्ता गर्न निर्देशन दिएका थियौँ, तर गुनासो दोहोरिएपछि संयुक्त अनुगमन गर्नुप¥यो”, ज्ञवालीले भने । विद्यालयले तीन वर्षअघि बूढानीलकण्ठबाट वसुन्धरामा स्थानान्तरण भएको तथा कक्षा ११ र १२ को सञ्चालनका लागि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट अनुमति लिएको दाबी गरेको छ । दाबीहरू पुष्टि गर्न कामपाले कागजात माग गरेको हो ।
विद्यालय सञ्चालनको अनुमतिपत्र, शुल्क संरचना र छात्रवृत्तिसम्बन्धी विवरण, भौतिक पूर्वाधार कक्षाकोठा, सुरक्षा, चमेनागृहसम्बन्धी कागजात, राजस्व र करसम्बन्धी विवरण, विद्यालय स्थानान्तरणसम्बन्धी प्रमाणलगायत कागजातको प्रमाणित प्रतिलिपि तीन दिनभित्र शिक्षा विभागमा पेस गर्न निर्देशन दिइएको कामपाले जनाएको छ । कामपाले हालै सामुदायिक र निजी विद्यालयमा छात्रवृत्ति कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि विशेष अनुगमन अभियान सञ्चालन गरेको छ ।