केन्द्रीय कमिटीको निर्णय मान्न जनसङ्गठनहरूलाई ओलीको निर्देशन


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीका निर्णयअनुसार परिचालित हुन जनसङ्गठनहरूलाई निर्देशन दिएका छन् ।
शनिबार बालुवाटारमा जनसङ्गठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पार्टीको संस्थागत निर्णयलाई सम्मान गर्नुपर्ने दोहोर्याएका हुन् ।
ओलीले भने, ‘निर्णय भनेको निर्णय हो। अब दायाँबायाँ नगरी त्यसको कार्यान्वयनका लागि एकजुट भएर लाग्नुपर्छ र हाम्रो सम्पूर्ण ध्यान मिसन ८४ मा केन्द्रित हुनुपर्छ।’ उनले जनसङ्गठनमा गैर–पार्टी सदस्यहरूलाई पनि समावेश गर्नुपर्नेमा जोड दिए ।
मानवाधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालका अनुसार, ओलीले पार्टीले संस्थागत रूपमा गरेको निर्णयलाई आधार बनाएर जनसङ्गठनहरू चल्नुपर्ने बताए । बैठकमा विधान महाधिवेशनका सन्दर्भमा भएका निर्णयहरूमाथि पनि स्पष्टीकरण दिइएको थियो ।