Ad Image

भारतबाट नक्कली नोट लिएर आउँदै गरेका २ जना पक्राउ

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

सुनसरी । कोशी गाउँपालिका–८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको लु९२प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले गए राति नियन्त्रणमा लिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोटसहित जम्मा ३८ हजार फेला परेको हो ।

बरामद नक्कली नोट र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।