सरकारी घिन्ताङघिसीसँगै भक्तपुरको गाईजात्रा सुरु

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gaijatraa.PNG

भक्तपुर । गाईजात्रा सुरु भएको सङ्केतस्वरुप भक्तपुरमा आज सरकारी घिन्ताङघिसी नाच प्रदर्शन गरिएको छ । गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट सो नाच धुमधामले मनाइन्छ । भक्तपुरमा भने जनैपूर्णिमाको दिउँसो सरकारी घिन्ताङघिसी नाच प्रदर्शनसँगै गाईजात्रा सुरु भएको मानिन्छ ।
 
वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा सुरु भएको जनाउ दिन गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी दरबारस्क्वाएरस्थित बहटोलबाट घिन्ताङघिसी नाच निकालेको हो । 
 
भक्तपुरको बहटोलबाट सुरु भएको नाच भक्तपुर नगरका दरबारस्क्वायर, बालाखु गणेश, चोछें, भुलाछें, महालक्ष्मी स्थान, थालछें, गछें, सुजमारी, तचपाल, गोमारी, सुकुलढोका, तमारी, नासमना, बंशगोल, इटाछें र खःमालगायत क्षेत्रको परिक्रमा गरी पुनःसुकुलढोकामा पुगेर समापन भएको हो ।
 
धा बाजा, तःबाजा, धिमाय् बाजाको संयुक्त तालमा नाचमा सहभागीले हातमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाचिन्छ । कृष्णाअस्टमीको दिनसम्म मनाइने भक्तपुरको गाईजात्रामा प्रत्येक दिन साँझ विभिन्न टोलबाट घिन्ताङघिसी नाचसँगै विभिन्न व्याङ्ग्यात्मक नाटक, विभिन्न सांस्कृतिक नाच प्रदर्शन गर्ने परम्परा छ । भक्तपुरमा गाईजात्रा आठ रात नौ दिनसम्म मनाइन्छ । 

 


Facebook Comments