चलचित्र ‘मोहर’ र ’सिटामोल’लाई दर्शकको भव्य साथ

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/film.jpg

काठमाडौं । गाईजात्रा, जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा प्रदर्शनमा आएका दुई नेपाली चलचित्र ‘मोहर’ र ’सिटामोल’ले दर्शकको राम्रो साथ पाएका छन् । दुवै चलचित्र सामाजिक विषयवस्तुमा आधारित भए पनि तिनको प्रस्तुति फरक रहेको निर्माण पक्षले बताएको छ ।

‘मोहर’ देउकी प्रथा र बालिकामाथि हुने हिंसाको कथामा आधारित छ, जसको उद्देश्य परम्परागत अन्धविश्वासविरुद्ध जनचेतना जगाउनु हो । यसका लेखक तथा निर्देशक ओम प्रतीकका अनुसार, यो चलचित्रले मनोरञ्जनका साथै सामाजिक सन्देश पनि दिन्छ । चलचित्रमा पल शाह, बेनिशा हमाल र निती शाहजस्ता कलाकारहरूको अभिनय छ ।

अर्कोतर्फ, ‘सिटामोल’ माओवादी द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा केन्द्रित छ । यसका निर्देशक राजबहादुर सानेले यो चलचित्रले द्वन्द्वको प्रभाव र एक लडाकुको जीविकोपार्जनका लागि गर्नुपरेको सङ्घर्षलाई देखाएको बताए ।

अभिनेता सौगात मल्लले पनि यो चलचित्रले हाम्रो सोचाइमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । चलचित्रमा सौगात मल्लसँगै बेनिशा हमाल र श्रीकृष्ण निरौलालगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

यी दुवै चलचित्रले चाडपर्वमा प्रदर्शन भएका नेपाली चलचित्रले दर्शकको साथ पाउने गरेको पछिल्लो प्रवृत्तिलाई निरन्तरता दिएका छन् ।


Facebook Comments