पहिरोका कारण कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध


गुल्मी । अविरल वर्षाका कारण पहिरो र खोलामा आएको बाढीले गुल्मीका दुई प्रमुख सडक अवरुद्ध भएका छन् ।
कालीगण्डकी करिडोरको गुल्मीखण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन तत्कालै समस्या भएको छ । त्यस क्षेत्रमा दुवैतर्फका सवारीसाधन अलपत्र परेका छन् ।
यस्तै जिल्लाको अर्को मुख्य सडक रिडी–वामीटक्सार खण्ड पनि अवरुद्ध भएको छ । सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि सडकमा यातायात ठप्प भएका छन् । खोलामा लेदोसहितको बाढी आएकोले गर्दा रिडी हुँदै बुटवल र बागलुङको बुर्तिबाङसम्म चल्ने सवारीसाधन रोकिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले खोला आसपासका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । बडिगाड खोला र कालीगण्डकीमा पनि पानीको सतह बढ्दै गएको जानकारी दिइएको छ ।
Facebook Comments