विपक्षी दलको निष्कर्ष–उपसभामुख रानालाई हटाउने सत्तारुढ दलको प्रयास विरुद्ध प्रतिवाद गर्ने


काठमाडौं । विपक्षी दलहरुले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तारुढ दलको प्रयास विरुद्ध सशक्त प्रतिवाद गर्ने भएका छन् । मंगलवार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले उपसभामुख रानालाई हटाउने सत्तारुढ दलको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको हो ।
विपक्षी दलहरुले यो विषय बुधवार हुने प्रतिनिधि सभामा समेत उठाउने भएको छ । आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले यस विषयमा केहीबेर ब्रिफिङ गरेका थिए । ब्रिफिङका क्रममा उनले वर्तमान सरकार निरंकुशतावादतर्फ अग्रसर भएको र विपक्षीको घाँटी निमोठ्नेगरी अघि बढेको बताएका थिए ।
कांग्रेस–एमालेका सांसदहरूले आज बिहानैबाट उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएको छ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई उपत्यका बाहिर नजान र उपत्यका बाहिर भएका सांसदलाई बुधवार साँझसम्म काठमाडौं फर्किन निर्देशन समेत दिइसकेको छ ।
कांग्रेस–एमालेले उपसभामुख हटाउन हस्ताक्षर संकलन गर्न थालेपछि प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार दिउँसो विपक्षी दलको बैठक बोलाएका थिए ।
Facebook Comments