फोहोरमैला व्यवस्थापन केन्द्रमा ताला, शुक्लाफाँटा नगरपालिकाको फोहोर विसर्जनमा समस्या

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sukla4.jpg

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ स्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक वन उपभोक्ता समूहले तालाबन्दी गरेपछि नगरक्षेत्रको फोहोर सङ्कलन र विसर्जन कार्य पूर्ण रूपमा अवरुद्ध भएको छ ।

तीन दिनअघि श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहले ११ बुँदे सहमति कार्यान्वयनको माग गर्दै केन्द्रमा तालाबन्दी गरेपछि झलारी, वन समिति, कलुवापुरलगायतका बजार क्षेत्रमा फोहर थुप्रिँदै गएको छ । फोहोरमैला व्यवस्थाप केन्द्र निर्माण भएपनि सञ्चालनमा नआउँदा नगरपालिकाले अस्थायी रूपमा सामुदायिक वनकै जग्गामा फोहर विसर्जन गर्दै आएको छ ।

सामुदायिक वनका उपभोक्ताले अस्थायी रूपमा फोहर विसर्जन गर्दै आएको कार्यमा रोक लगाएपछि बजार क्षेत्रको फोहर सङकलन र विर्षजन हुन सकेको छैन । करिब रु ३० करोडभन्दा बढी लागतमा एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । 

फोहरमैला व्यवस्थापन केन्द्र आधुनिक प्रविधिसहित निर्माण गरिएको छ । प्राविधिक अध्ययनअनुसार यस केन्द्रले दैनिक छ टनसम्म फोहर व्यवस्थापन गर्ने क्षमता राख्छ भने करिब दुई दशकसम्म सञ्चालन गर्नसक्ने अनुमान गरिएको छ । 

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्मरबहादुर ऐरका अनुसार केन्द्र निर्माणका क्रममा नगरपालिका र समूहबीच ११ बुँदे सहमति भएको थियो । त्यसअनुसार अन्य क्षेत्रको फोहर नल्याउने, आवासीय क्षेत्रमा मेसवायर जाली जडान गर्ने, प्रत्येक उपभोक्तालाई एलपी ग्यास उपलब्ध गराउने, वनहरा र सनवोरा नदीमा तटबन्ध निर्माण गर्ने, स्थानीयलाई रोजगारी दिनेलगायत प्रावधान राखिएका थिए ।

यसबाहेक, आर्यघाट क्षेत्र व्यवस्थित गर्ने, डस्टबिनको व्यवस्था गर्ने, प्रभावित बस्तीमा सडक कालोपत्रे र बत्ती जडान गर्ने, सामुदायिक वनको सीमसार क्षेत्र संरक्षण गर्ने, स्वास्थ्य बीमा तथा निःशुल्क उपचारको सुविधा उपलब्ध गराउने, र समयावधि पूरा भएपछि जग्गा फिर्ता गर्ने प्रावधान पनि सम्झौतामा समावेश भएको थियो ।

“सहमति भएको तीन वर्ष बितिसक्दा पनि नगरपालिकाले कुनै बुँदा कार्यान्वयन गरेको छैन”, अध्यक्ष ऐरले भने, “नगर कार्यपालिकाको १३५ औँ बैठकले कार्यान्वयन गर्ने निर्णय गरे पनि अझै बेवास्ता गरिएको छ ।”

सामुदायिक वन उपभोक्ता समूहका पूर्वसचिव दिलबहादुर साउदले तालाबन्दी गरे पनि नगरपालिकाले हालसम्म संवाद सुरु नगरेको र मौन बसेको बताउनुभएको छ । “हामीले बारम्बार सम्झौताका बुँदा कार्यान्वयन गर्न माग गरेका थियौँ, तर नगरपालिका बेवास्ता गर्दै आएको छ”, उनले भने, “तत्काल सहमति कार्यान्वयन भएन भने सङ्घर्षका थप कार्यक्रम सार्वजनिक गर्नेछौँ ।”


Facebook Comments