बाढीको पूर्वसूचना अब फोनबाट पनि दिइने


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बाढीको पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका लागि ‘भ्वाइस कल’ सेवा सुरु गर्ने भएको छ ।
यसअघि एसएमएसमार्फत मात्रै सूचना दिँदै आएको विभागले नेपाल टेलिकमसँगको सहकार्यमा यसै सातादेखि परीक्षणका रूपमा यो सेवा सुरु गर्न लागेको हो ।
विभागका बाढीविद् विनोद पराजुलीका अनुसार, सबै मानिसले एसएमएस पढ्न नसक्ने वा थाहा नपाउन सक्ने भएकाले फोन गरेरै सन्देश प्रवाह गर्ने तयारी गरिएको हो । यसबाट बाढीबाट हुने धनजनको क्षति न्यूनीकरणमा थप सहयोग पुग्ने विश्वास विभागको छ ।
पराजुलीले पछिल्लो समय पूर्वसूचनाका कारण बाढीबाट हुने क्षति न्यून भएको बताए । यद्यपि, हाल पूर्वसूचना प्रणाली तराईका नदीहरूमा मात्र बढी केन्द्रित भएकाले अब पहाड र हिमाली क्षेत्रमा पनि यस्ता प्रणाली जडान गर्न आवश्यक रहेको उनको भनाइ छ ।
जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने लगायतका जोखिम बढेकोले पूर्वसूचना प्रणालीको पहुँच सबै क्षेत्रमा पुर्याउनुपर्नेमा जोड दिए ।
Facebook Comments