गाजामा भोकमरी चुलिँदै, इजिप्टले मानवीय सहायता पुर्याउने


कायरो । इजिप्टले आइतबार गाजाका लागि नयाँ मानवीय राहत सामग्री बोकेको काफिला पठाएको छ । केही दिनअघि इजरायलले गाजासँगका नाका बन्द गरेपछि राहत पठाउने कार्य रोकिन पुगेको थियो । अहिले ती नाका पुनः खुलाइएसँगै इजिप्टले पुनः राहत पठाएको हो ।
राहत सामग्री इजिप्टको रेड क्रेसेन्ट संस्था अन्तर्गत सञ्चालित ‘सम्मानको अर्पण ः इजिप्टबाट गाजातर्फ’ नामक अभियान अन्तर्गत पठाइएको हो । उक्त सामग्री राफाह नाकाबाट केरम शालोम नाका हुँदै इजरायली पक्षको निरीक्षणमा लगिएको थियो । निरीक्षणपछि सामग्री गाजातर्फ प्रवेश गराइएको हो ।
काफिलामा पिठो, दाल, रोटी, इन्धन, औषधि तथा अन्य अत्यावश्यक सामग्रीहरू रहेका छन् । यो राहत सामग्री त्यस्तो समयमा पठाइएको हो जब संयुक्त राष्ट्रसंघको समर्थनमा स्थापना गरिएको समन्वित खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) नामक संस्थाले गाजाको केही भागमा आधिकारिक रूपमा दुर्भिक्ष घोषणा गरेको छ । सो संस्थाले गाजामा चरम भोकमरी, खाना, औषधि र इन्धनको गम्भीर अभाव रहेको चेतावनी दिएको छ ।
इजिप्टको परराष्ट्र मन्त्रालयले यसअघि जानकारी दिँदै युद्ध सुरु भएयता गाजामा पठाइएको कुल राहत सामग्रीको ७० प्रतिशतभन्दा बढी इजिप्टले उपलब्ध गराएको बताएको थियो । मन्त्रालयका अनुसार हालसम्म इजिप्टले पाँच लाख पचास हजार टनभन्दा बढी सामग्री पठाइसकेको छ । यद्यपि, अझै पनि पाँच हजारभन्दा बढी राहत बोकेका ट्रकहरू राफाह नाकामा रोकिएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको विवरणअनुसार, दुई वर्षभन्दा बढी समयदेखि जारी इजरायली सैनिक कारबाहीमा हालसम्म ६२ हजार ६ सय ८६ जना प्यालेस्टिनीको ज्यान गइसकेको छ । यसै अवधिमा एक लाख ५७ हजार ९ सय ५१ जना घाइते भएका छन् ।
त्यस्तै, कुपोषण र दुर्भिक्षका कारण हालसम्म दुई सय ८९ जनाको मृत्यु भएको जनाइएको छ, जसमा एक सय १५ जना बालबालिका रहेका छन् ।युद्ध सन् २०२३ अक्टोबर ७ का दिन हमासले इजरायली भूभागमा आक्रमण गरी झण्डै एक हजार दुई सय जना इजरायली नागरिकको ज्यान लिएको र दुई सय ५० जनालाई बन्धक बनाएको घटनाबाट सुरु भएको हो । त्यसयता इजरायलले गाजामा निरन्तर आक्रमण गर्दै आएको छ ।
Facebook Comments