बालेनविरुद्धको कवाड व्यवसायीको आन्दोलनमा सुकुम्बासीको पनि साथ

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68aed3947e526.jpg

काठमाडौं। काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले आज तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको कवाड व्यवसायीको प्रदर्शनले कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय समेत घेराउ गरेको छ । 

कवाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने माग गरेका छन् ।

‘सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायमा तोडफोड सहितको अत्याचार विरुद्ध कवाड व्यवसायीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्,’ गुप्ताले भने, ‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने र हामीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउनुपर्ने हाम्रो माग हो । यस विषयमा वारपार गरेरै हाम्रो आन्दोलन स्थगित हुन्छ ।’ 

सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने उनले बताए । कानूनको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म आन्दोलन जारी रहने उनले बताए । 

शान्तिपूर्ण आन्दोलन गरिरहेका आन्दोलनकारीलाई काठमाडौंका सुकुम्बासीले पनि साथ दिएका छन् । आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास मोर्चाका अध्यक्ष कालबहादुर विकले कबाड आन्दोलनप्रति एक्यबद्धता व्यक्त गर्दै आन्दोलनलाई समर्थन गरेका छन् । उनले कबाड, सुकुम्बासी लगायत सबै मिलेर बालेनको गैरकानूनी कामको कडा रुपमा विरोध गर्नुपर्ने बताए । कानूभन्दा आफूलाई माथि राख्न खोज्ने बालेनलाई कानूनको अधिनमा ल्याउन आवश्यक भएको विकले बताए । 

कवाड आन्दोलनमा सहभागिहरुले सर्वोच्च अदालतको आदेश पालना गर, कवाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् । 

कवाड व्यवसायीले विभिन्न ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । 

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कार्वाही गर्नुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

यसैबीच, आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले काठमाडौं महानगरको विरुद्ध लगातार तीन दिनदेखी जारी कवाड आन्दोलनप्रति सरकार गम्भिर नहुनु दुःखद भएको बताएका छन् ।


Facebook Comments