तनहुँमा सामूहिक अकबरे खुर्सानीखेती, किसानलाई राम्रो आम्दानी


तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–८, अर्चलेका किसानहरूले सामूहिक रूपमा अकबरे खुर्सानीखेती सुरु गरेका छन् । ’अर्चले कृषक समूह’ मा आबद्ध २५ जना किसानले २२ रोपनी जग्गामा व्यावसायिक खुर्सानी लगाएका हुन् ।
उत्पादित खुर्सानी प्रतिकिलो २५० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको समूहका सदस्य गञ्जसिं गुरुङले जानकारी दिए । उनका अनुसार, पहिलो चरणमा नै एक हजार किलो खुर्सानी बिक्री भइसकेको छ, जसबाट दुई लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ । उत्पादित खुर्सानी भीमाद, दुलेगौँडा र पोखराका बजारमा पुग्ने गरेको छ ।
गाउँपालिकाले खुर्सानीको बेर्ना र सिँचाइका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेको थियो। सुरुमा ६ लाख रुपैयाँको लगानीमा खेती सुरु गरिएको थियो ।
समूहका अध्यक्ष मिनबहादुर गुरुङले वैशाखमा बिरुवा लगाएको दुई महिनामै फल्न सुरु भएको र अब दोस्रो चरणको बिक्रीको तयारी भइरहेको बताए ।
युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले यो खेती सुरु गरिएको गञ्जसिं गुरुङले उल्लेख गरे । उनले यस क्षेत्रको माटो निकै उर्वर भएको र सुन्तला खेती पनि विस्तार गर्ने योजना रहेको बताए ।
हाल १४० रोपनी जग्गामा सुन्तला लगाउन सुरु गरिएको छ र तीन हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।
Facebook Comments