जनकपुरमा दुई समुदायबीचको विवाद समाधान गर्ने सहमति

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b590493b505.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठामा केही दिनअघि हिन्दू र मुस्लिम समुदायबीच भएको तनावलाई अन्त्य गर्न सर्वपक्षीय सहमति भएको छ । 

दुई समुदायबीच सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धतासहित यो सहमति भएको हो । धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, विवादमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही गरिनेछ । 

साथै, भविष्यमा कुनै पनि समुदायले धार्मिक सद्भाव बिग्रिने काम नगर्न र त्यस्तो गतिविधि गर्नेमाथि सूक्ष्म निगरानी गरी कारबाही अगाडि बढाउने सहमति पनि भएको छ ।

गत शनिबार गणेश पूजाको मूर्ति विसर्जनपछि हरियो झन्डा हटाउने विषयमा विवाद सुरु भएको थियो । सो क्रममा दुई समुदायबीच झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

आइतबार पुनः तनाव बढेपछि प्रहरीले ३० राउन्ड हवाई फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो । सो घटनामा एक स्थानीय र सात जना प्रहरी घाइते भएका थिए ।


Facebook Comments