बुल्गेरियामा जीपीएस जाम हुँदा इयू प्रमुखको विमान अवतरणमा समस्या, रुसलाई लगायो आरोप


ब्रसेल्स । बुल्गेरियामा अवतरणका लागि तयारी अवस्थामा रहेको इयू प्रमुख उर्सुला भोन डेर लेयेन चढेको विमानलाई ‘जिपिएस जाम’ हुँदा अवतरणमा समस्या भएको छ । यस घटनामा रुसको हात रहेको आशंका गरिएको युरोपेली आयोगले सोमबार जनाएको छ ।
बुल्गेरियाली अधिकारीहरूले आइतबार भएको घटनाका लागि मस्को जिम्मेवार रहेको विश्वास गरेको तर उक्त क्षेत्रमा यस्ता आक्रमणहरू सामान्य भएकाले विमानलाई जानाजानी निशाना बनाइएको हो वा होइन भन्ने स्पष्ट नभएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता एरियाना पोडेस्टाले एक पत्रकार सम्मेलनमा भने, “हामी पुष्टि गर्न सक्छौँ, त्यहाँ वास्तवमै जीपीएस जाम भएको थियो।”
उक्त चार्टर्ड विमानले रुट परिवर्तन नगरी देशको दक्षिणमा रहेको प्लोभडिभ अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको थियो । आयोगका अध्यक्ष ६६ बर्षीया भोन डेर लेयेन युरोपेली सङ्घका सात–देशको भ्रमणका लागि बुल्गेरियामा अवतरण गर्ने क्रममा उक्त घटना भएको हो ।
यो २७–राष्ट्रहरूको समूह (इयू) को पूर्वी क्षेत्रमा रहेको बुलगेरियामा रूसका कारण सिर्जित अधिक खतराहरू देखिने गरेका छन् । “यस क्षेत्रले ‘धेरै अवरोधजन्य गतिविधिहरू’ अनुभव गरेको र धेरै कम्पनीहरू यसमा संलग्न भएको विश्वास गरिएको छ,” आयोगका प्रवक्ताले भने । पोडेस्टाले भने, “बुल्गेरियाली अधिकारीहरूले रुसले यो खुल्लमखुल्ला हस्तक्षेप गरेको आशंका गरेका छन्।”
– निरन्तर चेतवनी –
बुल्गेरियाली सरकारले उक्त घटनाको पुष्टि गरेको छ । “युरोपियन आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनलाई लिएर प्लोभडिभतर्फ जाँदै गर्दा विमानको जीपीएस आवागमन प्रणालीमा सूचना सम्प्रेषण गर्ने स्याटेलाइट संकेत निस्क्रिय भएको थियो,” एक सरकारी विज्ञप्तिमा भनिएको छ।
“उडानको सुरक्षा सुनिश्चित गर्न एयर कन्ट्रोल सेवाले जमिनमा रहेको अर्को नेभिगेसन उपकरणको प्रयोग गरेर तत्काल वैकल्पिक अवतरण विधि प्रस्ताव गरेको थियो,” विज्ञप्तिमा भनिएको छ।
यस घटनाको पहिलो रिपोर्टिङ गर्ने फाइनान्सियल टाइम्स पत्रिकाले विमानलाई कागजी नक्साको प्रयोग गरेर अवतरण गर्न बाध्य पारिएको जनाएको छ ।
आयोगले भोन डेर लेयेनको भ्रमणलाई रुस वा उसको सहयोगी बेलारुससँगको निकटताको ‘चुनौतीको सामना गरिरहेका’ सदस्यका लागि समर्थनको प्रदर्शनको रूपमा वर्णन गरेको छ। पोडेस्टाले भने, “निरन्तर धम्की रूसको शत्रुतापूर्ण व्यवहारको नियमित व्यवहार हो।”
“निःसन्देह, यस घटनाले युक्रेनका लागि प्रतिरक्षा क्षमता र समर्थन बढाउने हाम्रो अटुट प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ,” उनले बताए ।मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि युरोपले सैन्य खर्च बढाएको छ र प्रतिरक्षा तयारी सुधार गर्न खोजिरहेको छ ।
साढे तीन वर्षको युद्धमा युद्धविराम सम्झौता भएमा युक्रेनको सुरक्षाको प्रत्याभूति कसरी दिने भन्ने विषयमा पश्चिमा शक्तिहरुले छलफल गरिरहेका बेला यो घटना भएको हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुमा रुससँग वार्ता गर्न अघि बढे पनि युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासले गति लिन सकेको छैन ।
मस्कोले उपयुक्त निकासका लागि सहमति नजनाउँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच हुने सम्भावित बैठक अवरुद्ध छ ।
Facebook Comments