अफगानिस्तानमा भूकम्प पीडितलाई रुसले पठायो मानवीय सहायता
मेयरसाप डेस्क
|
२०८२ भदौ २० गते १५:५३
एजेन्सी । गत साता गएको शक्तिशाली भूकम्पमा परी २ हजार २०० भन्दा बढी मानिसको मृत्यु भएपछि रुसले शुक्रबार अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ । यो विपत्तिले पहिले नै गम्भीर मानवीय सङ्कट भोगिरहेको अफगानिस्तानको अवस्थालाई थप जटिल बनाएको छ ।
रुसको आपत्कालीन अवस्था मन्त्रालयले भूकम्प प्रभावितहरूका लागि २० टन खाद्यान्न बोकेको कार्गो विमान काबुल पठाएको जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘रुसी महासङ्घका राष्ट्रपतिको निर्देशनमा निकट भविष्यमा मानवीय सहायताको दोस्रो खेप पनि पठाउने योजना छ ।’
भूकम्पपछि अफगानिस्तानको स्थानीय स्वास्थ्य सेवामा अत्यधिक तनाव रहेको र ट्रमा सामग्री, औषधि र कर्मचारीको अभाव भएको विश्व स्वास्थ्य संगठनले बताएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका प्रमुख फिलिप्पो ग्रान्डीका अनुसार, भूकम्पबाट पूर्वी अफगानिस्तानमा ५ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।
२०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि यस वर्षको सुरुमा मस्कोले तालिबान सरकारलाई आधिकारिक मान्यता दिने पहिलो देश बनेको थियो । यस वर्षको जनवरीमा अमेरिकाले अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता कटौती गरेपछि अन्य सहायता संस्थाहरू पनि दबाबमा छन् ।
Facebook Comments