काठमाडौंका विद्यालय भोलिदेखि खुल्ने, सोमबारबाट पढाइ सुरु


काठमाडौं । ‘जेनजी’ आन्दोलनका कारण ठप्प रहेका देशभरका शैक्षिक संस्थाहरू भोलिबाट खुल्ने भएका छन् । काठमाडौं महानगरपालिकाले भोलि (आइतबार) बाट विद्यालय खोलेर पर्सि (सोमबार) बाट पठनपाठन सुरु गर्न निर्देशन दिएको छ ।
काठमाडौं महानगरले जारी गरेको सूचनाअनुसार, आइतबार विद्यार्थीलाई नबोलाई शिक्षक र कर्मचारीहरूलाई मात्र विद्यालयमा उपस्थित हुन भनिएको छ । उनीहरूले प्रशासनिक काम र सरसफाइको काम गर्नेछन् ।
यसैगरी, आन्दोलनका क्रममा विद्यालयमा कुनै क्षति पुगेको भए त्यसको विवरण महानगरमा बुझाउन पनि निर्देशन दिइएको छ । टोखा नगरपालिकालगायत काठमाडौंबाहिरका केही स्थानीय तहले भने भोलिबाटै पठनपाठन सुचारु गर्न भनेका छन् ।
महानगरले अभिभावकहरूलाई अवस्था सामान्य नहुन्जेलसम्म आफ्ना बालबालिकालाई आफैँ ल्याउने लैजाने व्यवस्था गर्न अनुरोध गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।
यदि अभिभावकले यसको जिम्मेवारी लिएमा सोमबारदेखि विद्यालयमा मनोसामाजिक परामर्शका साथै अध्ययन अध्यापनको काम सुरु गर्न भनिएको छ ।
Facebook Comments