जेल फर्किँदै रविले भने– ‘मैले कालकुट विष पिएँ, अर्को एक–दुई थोपा पिएर मर्दिनँ’

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c5525f18539.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछाने आज आफ्नो जन्मदिनको अवसरमा ‘आफूलाई उपहारस्वरूप’ फेरि कारागार फर्किएका छन् । जिल्ला–जिल्लामा लगाइएका र राजनीतिक प्रतिशोधमा आधारित भनिएका मुद्दाहरूमा न्याय हुने आशासहित उनी कारागार फर्किएका हुन् ।

‘जेनजी’ आन्दोलनका क्रममा जेलबाट निकालिएको विषयमा उनले भने, ‘त्यतिबेला भिडबाट जेल जोगाउन मलाई निकालियो, अहिले चिठी वैधानिक छैन भनिन्छ । म मेरा कारण कुनै कर्मचारी वा सचिवलाई अप्ठ्यारोमा पार्न चाहन्नँ, मै जिम्मा लिन्छु ।’

उनले आफूमाथि लागेका आरोप र बदनामीको बानी परिसकेको बताउँदै अगाडी भने, ‘मैले कालकुट विष पिएको धेरै भइसक्यो, अर्को एक–दुई थोपा विष पिएर म मर्दिनँ ।’

लामिछानेले नयाँ अन्तरिम सरकारको संवैधानिक पृष्ठभूमि जेसुकै भए पनि यसले परिणामबाट आफूलाई प्रमाणित गर्नुपर्नेमा जोड दिएका छन् । उनले जेनजी आन्दोलनको पहिलो दिनको दमन र दोस्रो दिनको हिंसाको छानबिन हुनुपर्ने माग गरेका छन् ।

उनले पुराना दलहरूसँग प्रतिशोध साध्न नचाहेको बताउँदै स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत राख्नुपर्ने बताएका छन् ।

उनले जेनजी आन्दोलनमा ज्यान गुमाएकाका परिवारसँग आफू सधैँ साथमा रहेको बताउँदै ’कुनै योगदान दिनुपर्यो भने म यही नख्खु कारागारमा छु’ भनेका छन् ।


Facebook Comments