क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c55a599ff1d.jpeg

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगलागीबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन पूर्ण रूपमा ध्वस्त भएको छ । रामशाहपथस्थित चारतले भवनमा रहेका फर्निचर, कम्प्युटर, महत्त्वपूर्ण कागजात र गाडीहरू जलेर नष्ट भएका छन् ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले भवनमा कुनै पनि सामान बाँकी नरहेको बताउँदै मन्त्रालयको काममा प्रत्यक्ष असर परेको बताएका छन् । हाल मन्त्रालयले क्षतिको विवरण लिने काम गरिरहेको छ ।

मन्त्रालयले अस्थायी रूपमा काम चलाउन नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट काम सुरु गर्ने योजना बनाएको छ ।

सो भवनमा आंशिक तोडफोड भए पनि जलेको थिएन। सचिव देवकोटाले नयाँ स्वास्थ्यमन्त्रीका लागि पनि एनएचआरसीमा एउटा कोठा तयार पारिएको जानकारी दिएका छन् ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ भने हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । नयाँ नेतृत्व आएपछि थप काम अघि बढाइने उनले बताएका छन् ।


Facebook Comments