कार्यालय परिसरमै टेन्ट टाँगेर नेपालगञ्ज उपमहानगरले सुरु गर्यो सेवा

अवरुद्ध भएको विद्युत् जडान र शौचालय सरसफाइ

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c67ccba939f.jpg

नेपालगञ्ज । आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका नेपालगञ्जका कार्यालयमध्ये केहीले अस्थायी रुपमा आजदेखि सेवाप्रवाह गर्न सुरु गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, भन्सार कार्यालय र उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले सेवा प्रवाह सुरु गरेका हुन् । 
 
नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यालय परिसरमा टेन्ट टाँगेर सेवा प्रवाह सुरु गरिएको जानकारी दिए। कार्यालयमा सरसफाइ र व्यवस्थापनको काम पनि भइरहेको उनको भनाइ छ । “अस्थायी कार्यालय स्थापना गरेर भेटघाट र नागरिकको अत्यावश्यक केही काम गर्न थालिएको छ”, उनले भने । उनले अवरुद्ध भएको विद्युत् जडान र शौचालय सरसफाइ समेत गरिएको बताए । 
 
उपमहानगरपालिकामा स्वास्थ्य सेवा सुरु गरिएको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए। भन्सार कार्यालय नेपालगञ्जले पनि औपचारिक रुपमा कार्यालयमा सञ्चालनमा ल्याएको जनाएको छ । भन्सार कार्यालय, नेपालगञ्जका सूचना अधिकारी पवित्रकुमार खड्काले आयात निर्यात र जाँचपास सुरु भएको जानकारी दिए । उनले कार्यालयमा आगजनी र तोडफोड भएकाले प्रशासनिक र मुद्दामामिलाका काम सञ्चालन हुन अझै केही समय लाग्ने उल्लेख गरे । 
 
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले आजदेखि बन्दीप्रत्यक्षकरणको रिट निवेदनसम्बन्धी काम सुरु गर्ने जनाएको छ । त्यसका लागि बार, बेञ्च र सरकारी वकिलको कार्यालयसँग छलफल गरिएको थियो । जिल्ला अदालतले सेवा प्रवाह कसरी गर्ने भन्ने विषयमा छलफल गर्दैछ । 
 
यसअघि जिल्ला प्रशासन कार्यालय, बाँकेले न्यूनतम सेवा कसरी प्रवाह गर्न सकिन्छ भनेर कार्यालय प्रमुखसँग छलफलसमेत गरेको थियो । 
 
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाह तत्काल सुरु गर्न अप्ठ्यारो स्थिति रहेको बताए । “आगजनी र तोडफोडले सबै खरानी भएको छ, कसरी काम गर्ने भन्ने विषयमा अन्यौल छ”, उनले भने। बाँकेमा निजी तथा सरकारी विद्यालय सञ्चालनमा आएका छन् । विद्यालयका दोस्रो चरणको परीक्षाका तयारीका लागि पनि विद्यालय सञ्चालनमा आएको विद्यालयले जनाएको छ । 
 
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेका अध्यक्ष विकास बज्राचार्यले स्थिति सहज भएकाले सहयोग गर्न सबैलाई अनुरोध गरे। जेनजी प्रदर्शनका क्रममा बाँकेका अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी भएका कारण कार्यालयले सेवा प्रवाह गर्न सकेका छैनन् ।  


Facebook Comments