सुमना श्रेष्ठ भन्छिन्–मैले पार्टी छोडेको हो, परिवर्तनको एजेण्डा छोडेको छैन (भिडियो)
'मैले मन्त्री पद खान जान पार्टी छोडेको होइन्'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी सुमना श्रेष्ठले आफूले पार्टी छोडे पनि परिवर्तनको एजेण्डा नछोडेको बताएकी छन् । सोमबार पार्टी छोडेको घोषणा गरेकी श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।
उनले आफूले कुनै मन्त्री पदका लागि पार्टी नछोडेको र मन्त्री खान नजाने समेत स्पष्ट पारेकी छन् ।
‘जुन एजेण्डा मैले बोकेर पार्टीमा गएको थिए त्यो एजेण्डा मैले अझै पनि छोडेको छैन । परिवर्तनको यहि एजेण्डा राखेर जेनजी युवाहरुले आन्दोलन गर्नु भएको छ । उहाँहरुलाई अहिले बदनाम गर्न समेत खोजिएको छ । तर यसो हुन दिनु हुँदैन ।’ श्रेष्ठ भन्छिन्, ‘पार्टी छोड्दै गर्दा कतिले यसो गर्न हुँदैन थियो भन्नु भएको छ । तर मैले जुनकुरा पार्टीभित्र बसेर गर्न सकिन त्यो अब जनताको माझमा आएर गर्नेछु ।’
श्रेष्ठ थप भन्छिन्, ‘मैले मन्त्री पद खानका लागि पार्टी छोडेको पनि होइन् । भाइबहिनीहरु अगाडि बसेर उहाँहरुलाई सहयोग गर्न म यहाँ आएको छु । यो क्रान्तिमा मृत्यु हुनेको संख्या ७२ जना पुगिसकेको छ । युवाको बलिदान यतिकै जान नदिन पनि म आग्रह गर्छु ।’
उनले अन्य दललाई समेत नडराउन आग्रह गर्दै जेनजीको सबैले चाहेको परिवर्तनलाई साथ दिन आग्रह गरेकी छन् । साथै पार्टीभित्र बसेर जेनजीको क्रान्तिलाई बदनाम गर्ने अभियानमा साथ नदिन समेत उनले सबै राजनीतिक दललाई आग्रह गरेकी छन् ।
Facebook Comments