संविधान विरोधी गतिविधि समयमा नै बुझ्न जरुरी छः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधान विरोधी गतिविधिलाई समयमा नै बुझ्न सके मात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन्।
संविधान दिवस २०८२ को शुभकामना व्यक्त गर्दै उनले संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताले गरेको आन्दोलनले मुलतः समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उल्लेख गरेका छन् । उनले भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थितिको सृजना गरिएको र जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने गैरसंवैधानिक कार्य भएको उल्लेख गरेका छन्।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्रलाई कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ प्रणाली अगाडि बढेको र अधिकार प्रत्यायोजनसहित स्थानीय तहलाई सबल बनाउँदै सेवा प्रवाह नागरिकको ढोकाढोकामा पुग्ने वातावरण बनेको उनको भनाइ छ ।
सभामसख घिमिरेदे विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसद्मार्फत नै पुनस्र्थापित गरेको तर्फ स्मरण गराउँदै लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुनेतर्फ ध्यानाकर्षण पनि गराए । विसं २०७२ असोज ३ गते नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरूप जारी भएको संविधान नेपालको मौलिक यथार्थ र लोकतान्त्रिक प्रणालीमा आधारित महत्त्वपूर्ण संवैधानिक दस्तावेज हो । यस संविधानले सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै विविधतामा एकता, समान अधिकार र साझा गौरवको मार्गप्रशस्त गरेको छ ।
Facebook Comments