माफी माग्दै बिष्णु पौडेलले भने–एमाले नीतिमा गम्भीर समीक्षा हुन्छ
पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने


काठमाडौं।नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले क्षमायाचना गर्दै एमालेमा गम्भीर समिक्षा हुने बताए । संविधान दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै एमालेका निर्णयको गम्भीर समिक्षा हुने बताएका हुन् ।
उनले भने, ‘मेरो तर्फबाट भएका गल्ति, कमजोरीप्रति क्षमायाचना गर्दछु।’
उनले संविधान दिवसको शुभकामना दिदैँ लेखेका छन्
जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरुमा समवेदना व्यक्त गर्दछु। घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्री सुशीला कार्किको नेतृत्वमा गठित मन्त्री परिषद्बाट शान्ति र अमन चैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेन्जी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र नीजिक्षेत्रका संरचनाहरुको पुननिर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्ने जस्ता महत्वपूर्ण अभिभारा पुरा हुन सकुन् भन्ने अपेक्षा गर्दछु ।
जेन्जी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानवीन गर्न, दोषिहरुलाई कानुन बमोजिम कार्वाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजि संरचनाहरुको यथाशीघ्र पुननिर्माण गर्न सरकारसँग माग गर्दछु ।
जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेन्जी आन्दोलनका मूख्य कारणहरु हुन्। तर आन्दोलनका क्रममा भएको हत्या–हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ ।
विगतमा नेकपा (एमाले) ले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समिक्षा हुने नै छ । व्यक्तिगत रुपमा आफ्नो तर्फबाट भएका गल्ति, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु ।
अब हाम्रो सामु जनतासँग, विशेषगरी नयाँ पुस्तासँग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ। तदनुरुप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु ।
आज असोज ३ गते, संविधान दिवसको ऐतिहासिक दिन। विगतका अनुभवबाट शिक्षा लिंदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सम्पूर्ण नेपालीले योगदान दिन सकौं। आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सकौं। सबैमा संविधान दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
विष्णुप्रसाद पौडेल
Facebook Comments