दसैँका लागि १३ हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइयो

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cd573a100de.JPG

मुस्ताङ । दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको हो ।

केन्द्रका पशु चिकित्सक लालमणि अर्यालले मुस्ताङकै किसानका छ हजार ६०० भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइएको जानकारी दिए । कर्णाली प्रदेशको जुम्लाबाट ७७५, मगुबाट पाँच सय र डोल्पाबाट पाँच हजार चार सय भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको पशु चिकित्सक अर्यालले बताए । 

मुस्ताङबाट अझै थप एक हजारको हाराहारीमा भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइने अनुमान गरिएको छ । गतवर्ष दसैँमा मुस्ताङबाट नौ हजार बढी भेडाच्याङ्गा अन्य जिल्ला पठाइएको थियो । 

गत वर्षको तुलनामा औसत २० प्रतिशतभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरी जिल्ला पठाइएको पशु चिकित्सक डा अर्यालले उल्लेख गरे । यस वर्ष ५० प्रतिशत मुस्ताङबाट र ५० प्रतिशत कर्णाली प्रदेशबाट मुस्ताङको जोमसोम, घाँसा हुँदै पठाइएको हो ।

कास्कीका भेडाच्याङ्ग्रा व्यापारी पूर्णबहादुर रानाभाटले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङग्याबाट कृषकहरूको खोरबाटै २३५ वटा च्याङ्ग्रा खरिद गरी बिक्रीका लागि पोखरा लैजाने तयारी गरेको बताए । उपल्लो मुस्ताङका कृषकहरूको गोठमै पुगेर च्याङ्ग्रा छनोट गरी ल्याएको उनको भनाइ छ । यसपटक कृषकको खोरमै गतवर्ष भन्दा केही बढी मूल्य परेको उनले बताए ।

यसवर्ष रोज्जा च्याङ्ग्रा प्रतिगोटा ३५ हजार र माउ (च्यालु) को १३ हजार रुपैयाँ मूल्य परेको व्यापारी रानाभाटको भनाइ छ । मुस्ताङबाट खरिद गरिएका च्याङ्ग्रा पैदलै पोखरा लगेर बिक्री गरिने उनले बताए । सायद पोखरामा लैजाँदा रोज्जा च्याङ्ग्राको ४२ हजार र च्यालु च्याङ्ग्राको १८ हजार रुपैयाँमा बिक्री गरिने व्यापारी रानाभाटले बताए । गतवर्ष मुस्ताङबाट २८६ वटा च्याङ्ग्रा पोखरा लगेर बिक्री गर्दा राम्रै फाइदा भएकामा यसवर्ष देशमा उत्पन्न परिस्थितिले गर्दा च्याङ्ग्रा बिक्री नहुने पो होकी भन्ने चिन्ता बढेको व्यापारी रानाभाटले बताए । 

दसैँका लागि जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको व्यापारी र च्याङ्ग्रा धनीको समन्वयमा खोरमै पुगेर भेटेरिनरी परीक्षण गरिएको छ । यहाँ परीक्षण गरिएका भेडाच्याङ्ग्राको अवघि ७२ घण्टासम्मको हुनेछ । मानव स्वास्थ्यको रक्षा र अस्वस्थकर च्याङ्ग्राका कारण रोगव्याधी नफैलिओस भन्ने अभिप्रायले भेडाच्याङग्राको परीक्षण गरिएको हो ।

मुस्ताङमा यसवर्ष करिब एक सयभन्दा बढी च्याङ्ग्रा व्यापारी आएका छन् । यहाँबाट खरिद गरिएका च्याङ्ग्रा व्यापारीहरूले पोखरा–काठमाडौँलगायत स्थानमा लगेर बिक्री गर्छन् । कतिपय व्यापारीले मुस्ताङबाट निकासी गरिएका च्याङ्ग्रा पैदल खेदाउँदा म्याग्दी, पर्वत र बाग्लुङलगायत स्थानमा लगेर बिक्री गर्ने गर्छन् ।

हिमाली जिल्लाको उच्च लेक तथा पाटनमा पालन गरिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले सहर बजारको उपभोक्ताहरू दसैँमा च्याङ्ग्राको मासु खान रुचाउँछन् । 


Facebook Comments