अमेरिकी क्रिकेट बोर्ड आइसिसीबाट निलम्बित

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d39ea990cf2.jpg

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले युएसए क्रिकेटलाई तत्काल प्रभावबाट निलम्बन गरेको छ । आइसिसी बोर्डले अमेरिकाले ‘विधानअन्तर्गत सदस्यका रूपमा दायित्व बारम्बार उल्लघंन गरेको’ भन्दै यो निर्णय लिएको हो ।

मंगलबार राति जारी विज्ञप्तिअनुसार, अमेरिकाले कार्यात्मक शासन संरचना लागू गर्न नसकेको र युएसए ओलम्पिक र प्यारालिम्पिक समितिसँग राष्ट्रिय परिचालक निकायको स्थिति पाउन कुनै प्रगति नगरेकाले निलम्बन गरिएको हो । यसबाहेक, अमेरिकामा भएका केही कार्यले विश्वभर क्रिकेटको प्रतिष्ठामा आँच पुगेको पनि आइसिसीले जनाएको छ ।

निलम्बन भए पनि अमेरिकी पुरुष टोलीले अर्को वर्ष हुने टी–२० विश्वकपमा खेल्ने छ । यस क्रममा टोलीको व्यवस्थापनको जिम्मेवारी अस्थायी रूपमा आइसिसीले नै लिनेछ ।

आइसिसीले निलम्बन खेलको दीर्घकालीन हितका लागि आवश्यक कदम भएको बताएको छ । यसअघि नै अमेरिकालाई सदस्यता मापदण्ड पूरा नगरेको भन्दै सुधारका लागि १२ महिनाको समय दिइएको थियो ।


Facebook Comments