भ्रष्टाचारीलाई कारबाही नभए जेन–जीको बलिदान खेर जान्छ : बाबुराम भट्टराई


काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि आफू राजनीतिबाट अलग नभएको स्पष्ट पारेका छन् । उनले नयाँ पुस्तालाई प्रोत्साहन गर्नका लागि मात्र नेतृत्व हस्तान्तरण गरेको बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि निरन्तर रहने छु ।’ उनले हालैको जेनजी युवा आन्दोलनलाई जायज भएको भन्दै समर्थन व्यक्त गरे ।
डा. भट्टराईले देशको वर्तमान अवस्थामाथि टिप्पणी गर्दै चुनावअघि भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए । अन्यथा, भ्रष्ट नेताहरू नै पुनः निर्वाचित भएर आउने खतरा रहेको उनको भनाइ छ ।
देशमा स्थिरता ल्याउन निर्वाचनमा जानुअघि नै शासकीय प्रणालीमा सुधार हुनुपर्ने उनको माग छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली मा नगएसम्म देशमा स्थायित्व नआउने र जेनजी युवाको बलिदान खेर जाने उनको धारणा छ ।
Facebook Comments