मन्त्री घिसिङ र युरोपेली सघंका राजदूत लोरेन्जोबीच भेटवार्ता


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली सङ्घ (ईयू) का राजदूत भेरोनिक लोरेन्जो बीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत लोरेन्जोले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएकी थिइन् ।
भेटका क्रममा दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन, हरित ऊर्जा, ऊर्जा सुरक्षा र प्रसारण तथा वितरण प्रणाली सुधार लगायतका विषयमा छलफल भएकाे हाे । मन्त्री घिसिङले ६७० मेगावाटको दूधकोशी आयोजना उच्च प्राथमिकतामा रहेको भन्दै ईयूसँग थप सहायता उपलब्ध गराउन आग्रह गरे ।
मन्त्री घिसिङले जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारको प्राथमिकता चुनाव, सुशासन र पुनर्निर्माण भए पनि विकास आयोजना अगाडि बढाउनु रहेको बताए । जवाफमा राजदूत लोरेन्जोले नेपालको ऊर्जा क्षेत्रमा सहयोग र सहकार्य गर्न ईयू सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् ।
Facebook Comments