काठमाडौंको भीमसेनस्थानमा भीषण आग*लागी : चार घर र एक मन्दिरमा क्षति


काठमाडौं । काठमाडौं महानगरपालिका–२०, भीमसेनस्थान नजिकै आज बिहान भीषण आगलागी हुँदा चारवटा घर र एक निजी मन्दिरमा क्षति पुगेको छ ।
बिहान ४ः४१ मा खबर प्राप्त भएपछि ६ वटा दमकल परिचालन गरी आगो नियन्त्रणको प्रयास गरिएको थियो । काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद जोशीका अनुसार आगो ९० प्रतिशत नियन्त्रणमा आइसकेको छ ।
आगलागी एउटा दुईतले घरमा रहेको कपडाको गोदामबाट सुरु भएको थियो । गोदाममा रहेका कपडा, कार्पेट र ग्यास सिलिन्डर पड्किएका कारण आगो तीव्र गतिमा फैलिएको थियो । इलेक्ट्रिक सर्किट सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
आगलागीबाट एउटा घर पूर्ण रूपमा नष्ट भएको छ भने दुईवटामा ५० प्रतिशतभन्दा बढी क्षति पुगेको छ । एक निजी मन्दिरमा समेत क्षति पुगेको जनाइएको छ । नगरप्रहरी, नेपाली सेना र नेपाल प्रहरीले स्थानीयको सहयोगमा दुई वयस्क र तीन बालबालिकासहित पाँच जनालाई सुरक्षित उद्धार गरेका छन् ।
Facebook Comments