कञ्चनपुरका दुई पालिकामा एक सय ५० छाउगोठ भत्काइयो

User Image मेयरसाप डेस्क | २०८२ असोज १३ गते १५:५४
Image of https://mayorsap.com/storage/photos/10/68da501920069.png

कञ्चनपुर । छाउपडी प्रथा अन्त्य गर्ने अभियान अन्तर्गत कञ्चनपुरका दुई पालिकामा हालसम्म १५० वटा छाउगोठ भत्काइएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कृष्णपुर नगरपालिकामा १२७ र बेदकोट नगरपालिकामा २३ छाउगोठ भत्काइएका हुन् । प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय पालिकाको समन्वयमा यो अभियान चलेको हो ।

कृष्णपुर–१, निगालीकी करिब ३२ वर्षीया कमला आउजीको असार अन्तिम साता छाउगोठमै सर्पले टोकेर मृत्यु भएपछि कृष्णपुर नगरपालिकाले तत्काल अभियान सुरु गरेको थियो । नगरपालिकाले छाउगोठ नभत्काउनेलाई १० हजार रुपैयाँ जरिवाना र कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो ।

कृष्णपुरका नगर प्रमुख हेमराज ओझाले देशको विषम परिस्थितिका कारण अभियान केही सुस्ताएको भए पनि दशैँ तिहारपछि पुनः निरन्तरता दिइने बताए । उनले छाउपडी प्रथा कानुनी मुद्दा मात्र नभई सामाजिक सोच परिवर्तनको विषय भएकाले सचेतनामूलक कार्यक्रम पनि निरन्तर सञ्चालन गर्ने योजना रहेको उल्लेख गरे ।

जिल्ला प्रशासन कार्यालयले नौवटै स्थानीय तहलाई निर्देशन दिए पनि हालसम्म यी दुई पालिकामा मात्रै अभियान अघि बढेको छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार छाउपडी गराउनेलाई तीन महिना कैद वा तीन हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।


Facebook Comments