भारी वर्षाको जोखिमले चार दिनसम्म लामो यात्रा नगर्न अनुरोध


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको पूर्वानुमान पछि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थाबाहेक चार दिनसम्म लामो यात्रा नगर्न अनुरोध गरेको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, असोज १७ गते (शुक्रबार) देखि २० गते (सोमबार) सम्म यी पाँच प्रदेशका विभिन्न जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।
बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तहको आसपास पुग्न सक्ने अनुमान छ । काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मोरङ, झापा, बारा, पर्सा लगायतका जिल्ला भई बग्ने साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च छ ।
प्राधिकरणले अत्यन्त जरुरी नभई रातिको समयमा यात्रा नगर्न, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन र आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
प्राधिकरणले जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गर्न र डोजर, एक्साभेटर लगायतका साधनहरू तुरुन्त परिचालन गर्न तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
Facebook Comments