सालको पात बेचेर मासिक ४० हजारसम्म आम्दानी

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विक ले यस वर्षका चाडपर्वहरूका लागि आवश्यक खर्च सालको पात बिक्री गरेर जुटाइरहेकी छन् ।
उदयपुरको गाईघाटबाट पात सङ्कलन गरी ल्याएर इटहरीका हटिया बजारमा बेच्नु उनको मुख्य आम्दानीको स्रोत बनेको छ ।
विकका अनुसार, चाडपर्वको समय अर्थात् भदौदेखि मङ्सिरसम्म पातको बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ । उनले एक हप्तामा रु ८ हजारदेखि रु १० हजारसम्मको पात बिक्री हुने गरेको बताइन् ।
इटहरी–७ कि इन्द्रदेवी घिमिरे पनि विगत चार वर्षदेखि गाईघाटबाट पात ल्याएर बिक्री गर्दै छन् । उनका अनुसार, भदौ, असोज र कात्तिक महिनामा पातको बिक्री उच्च हुन्छ ।
दशैँ–तिहारको समयमा दैनिक ३० देखि ४५ मुठासम्म पात बिक्री हुने गरेको र यसबाट मासिक रु ३० हजारदेखि ४० हजारभन्दा बढी आम्दानी हुने गरेको घिमिरेले बताइन् ।
सानो मुठा रु ४० देखि ६० र ठूलो मुठा रु १०० सम्ममा बिक्री हुने गरेको छ । बिना लगानी राम्रो आम्दानी हुने भएपछि इटहरीका अधिकांश महिलाहरू अहिले यसै काममा लागेका छन् ।
चाडपर्व, पूजापाठ, भोजभतेर, दुनाटपरी बनाउन समेत प्रयोग हुने भएकाले सहरी क्षेत्रमा पनि सालको पातको माग अत्यधिक रहेको व्यापारीहरूको भनाइ छ ।
Facebook Comments