राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा


म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ ।
भारतीय सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) सँगको ठेक्काको म्याद सन् २०२५ नोभेम्बर २७ सम्म थपिएको छ । इलेक्ट्रोमेकानिकल ठेक्काको म्याद भने आगामी डिसेम्बर ३१ सम्म छ ।
सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण अन्तिम चरणमा छ भने विद्युत्गृहमा उपकरण जडान थालिएको आयोजना व्यवस्थापक राज विष्टले बताए । ठेकेदारले दशैँको समयमा पनि ५०० भन्दा बढी मजदुर परिचालन गरेर कामलाई निरन्तरता दिएको छ ।
यो आयोजना भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा सञ्चालित छ ।
आयोजना व्यवस्थापक विष्टका अनुसार, ठेकेदारले कार्ययोजनाअनुसार काम गरेमा आगामी डिसेम्बर (२०२५) मा राहुघाट निर्माणसम्पन्न हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गतको २२० केभी दाना–कुश्मा प्रशारण लाइनमा जोडिनेछ ।
Facebook Comments