एक करोड खर्चेर अतिथि आवास निर्माण


गलकोट । रोजगारीको सिलसिलामा जापान पुगेका बागलुङ, काठेखोला गाउँपालिका–६ बिहुँकोटका बासिन्दाहरू ले आफ्नो जन्मभूमिको धार्मिक स्थलको विकासमा करोडौँको लगानी गरेका छन् ।
उनीहरूकै आर्थिक सहयोगमा बिहुँकोत मन्दिर (कोतघर) मा भक्तजनको सुविधाका लागि दुई पक्की अतिथि आवासगृह निर्माण सम्पन्न भएको छ ।
बिहुँकोट समाज जापान र जापान समाज बिहुँकोटको पहलमा ५१ जना दाताहरूबाट करिब १ करोड रुपैयाँ सङ्कलन गरेर यो संरचना निर्माण गरिएको हो ।
आवासगृह निर्माण संयोजक दीपक कँडेलका अनुसार, तल्लो र उपल्लो दुवै कोतघरमा बनाइएका यी आवासगृहमा एकै पटक २६ जनासम्म भक्तजन बस्न सक्ने क्षमता छ ।
निर्माण सम्पन्न भएका यी दुई अतिथि आवासगृहहरू फूलपातीको दिन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । संरक्षक तथा समाजसेवी दीपक सुवेदी ले आवासगृहको उद्घाटन गरेका थिए । उनले बिहुँकोत मन्दिरमा धार्मिक पर्यटक भित्र्याउने सम्भावना देखेर पूर्वाधारमा लगानी गरिएको बताए ।
हालसम्म १ करोड १० लाख रुपैयाँ सङ्कलन भइसकेको र बाँकी रकम अन्य पूर्वाधार निर्माणमा खर्च गरिने संयोजक कँडेलले जानकारी दिए ।
जापान समाज बिहुँकोटका अध्यक्ष नारायणप्रसाद कँडेलले प्रचारप्रसारको अभावमा ओझेलमा परेको बिहुँकोत मन्दिरलाई उजागर गर्न र यहाँ आउने भक्तजनलाई खाना तथा बस्नको व्यवस्थापन गर्न आवासगृह निर्माण गरिएको बताए ।
कँडेलका अनुसार, विगत तीन वर्षदेखि जापानमा बस्ने बिहुँकोटवासीहरू मन्दिरमा शौचालय, तारबार, सडक ढलान, खानेपानी, पदमार्ग र प्रवेशद्वार जस्ता विभिन्न पूर्वाधार निर्माणमा निरन्तर सक्रिय छन् ।
Facebook Comments