देशभरका ५ जलमापन केन्द्रमा खतराको तह पार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षादेखि अतिभारी वर्षाका कारण हालसम्म देशभरका पाँच जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । पूर्वका अन्य चार जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।
विभागको तथ्याङ्कमा आज मध्याह्न १२ः३० बजेसम्म धनकुटास्थित अरुण नदी जलमापन केन्द्रले दिएको जानकारी अनुसार जलसतहले खतराको तह पार गरेर ११ दशमलव २३ मिटर पुगेको छ । उक्त केन्द्रमा ११ मिटर जलसतहलाई खतराको तह मानिन्छ ।
यसैगरी, धनकुटास्थित त्रिवेणीको तामोर नदी मापन केन्द्रमा १० मिटर खतराको तह रहेकामा ११ दशमलव ४७ मिटर जलसतह पुगेको छ । सुनसरीस्थित सप्तकोसी चतराको जलसतह सात दशमलव १३ मिटर पुगेको छ । उक्त स्टेशनको खतरा तह भने सात मिटर रहेको छ ।
त्यस्तै, सुनसरी खोलाको जलमापन केन्द्रमा जलसतह ८१ दशमलव ८८ मिटर पुगेको छ । उक्त केन्द्रमा ८१ दशमलव आठ मिटर जलसतहलाई खतराको तह मानिन्छ । इलामको मैनाचुलीस्थित कन्काई नदी जलमापन केन्द्रमा जलसतह पाँच दशमलव ६१ मिटर पुगेको छ । उक्त केन्द्रको जलसतहको खतरा तह भने चार दशमलव तीन मिटर रहेको छ ।
सिन्धुलीको खुर्कोटस्थित सुनकोसी जलमापन केन्द्र, धनकुटाको मुलघाटस्थित तमोर नदी, इलामको पुवाखोला र इलामकै चिसापानीस्थित माइखोला जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका जलविद् विनोद पराजुलीले पूर्वका नदीहरूमा बाढीको खतरा बाँकी रहेको र मुलुकका अन्य नदीमा जलसतह सामान्य रहेको जानकारी दिए । बाढीबाट हुनसक्ने सम्भावित धनजनको क्षति न्यूनीकरण गर्नका लागि मोबाइल एसएमएसमार्फत जनमानसलाई सचेत गराइएको उनको भनाइ छ ।
Facebook Comments