गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्न माग

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e73a553bbff.jpg

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले जेनजी आन्दोलनमा हिंसा भड्काएको र विध्वंस मच्चाएको आरोप लगाउँदै गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने माग गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले गृहमन्त्री अर्याललाई राज्यविरुद्धको अपराधमा संलग्न भएको र ‘चौबिसै क्यारेटका स्टेकहोल्डर’ भएको आरोप लगाएका छन् ।

बर्तौलाले शान्तिपूर्ण जेनजी आन्दोलनमा सुनियोजित घुसपैठ गरी हिंसा, तोडफोड, आगजनी र लुटपाट गराउनमा गृहमन्त्री अर्याल नै प्रायोजित उत्प्रेरक रहेको दाबी गरे ।

भदौ २३ र २४ गतेको घटनामा घुसपैठको नाता सम्बन्ध रहेकै कारण अर्यालले सजिलै गृहमन्त्री पद हत्याएको र सपथ ग्रहणलगत्तै दोषीहरूलाई कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएको बर्तौलाको दाबी छ ।

उनले देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रूपमा रहेका गृहमन्त्री अर्याललाई पदबाट बर्खास्त गरी तत्काल गिरफ्तार गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेका हुन् ।


Facebook Comments