हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल
मेयरसाप डेस्क
|
२०८२ असोज २३ गते २१:३९
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन् । १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उनले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।
“हुलाकको आवश्यकता र सार्थकता घटेको छैन”, खरेलले भने, “हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ ।” सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताए ।
“स्थानीय तह र समुदाय, परिवार र व्यक्तिको तहसम्म हुलाक सेवा पुर्याउनुपर्छ । विश्वको जुनसुकै देशमा रहेका नेपालीका बीचमा हुलाक सेवाको पहुँच हुनुपर्छ”, मन्त्री खरेलले भने । उनले हुलाक सेवालाई सुदृढ बनाउन मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गरे ।
सो अवसरमा मन्त्री खरेलले नेपाली क्रिकेट टोली (महिला र क्वालिफाइड यु–२०), महोत्तरीको महिटहानीस्थित लक्ष्मीनारायण मन्दिर, मुस्ताङको लोमान्थाङस्थित सिजा झोङ गुफा र शिक्षाविद् डा हर्कबहादुर बुढा मगरको तस्बीर अङ्कित टिकटमा टाँचा लगाएका थिए ।
कार्यक्रममा ‘फिलाटेलिक’, उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको थियो । दिवसका अवसरमा विभाग परिसरमा विभिन्न हुलाक टिकट प्रदर्शन गरिएको थियो । ‘नागरिकका लागि हुलाक, स्थानीय सेवा र विश्वव्यापी पहुँच’ भन्ने नाराका विश्वव्यापी रुपमा आज विश्व हुलाक दिवस मनाइएको छ ।
Facebook Comments