ओली र लेखकविरुद्धको जाहेरी आयोगबाट प्रहरीमै फिर्ता

जाहेरीमाथिको अनुसन्धान आयोगको कार्यक्षेत्रमा नपर्ने

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e7b44678f68.jpg

काठमाडौं । जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फर्काएको छ । जाहेरीमाथिको अनुसन्धान आयोगको कार्यक्षेत्रमा नपर्ने भएपछि फिर्ता गरेको आयोगले जनाएको छ । 

बिहीबार आयोगका प्रवक्ता विज्ञान राज शर्माले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जाहेरी आयोगको कार्यक्षेत्रभित्र नपर्ने बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन । फौजदारी कसुरमा जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानूनले अख्तियारी प्रदान गरेको विदितै छ । यस्तो कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने भएकाले प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने ।’

जेन–जी आन्दोलनमा मृत्यु भएका परिवारले जिल्ला प्रहरी परिसर कामठाडौंमा उजुरी दिँदै ओली र लेखकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका थिए ।काठमाडौं प्रहरी परिसरमा परेका ती जाहेरी आयोगको कार्यक्षेत्र भन्दै प्रहरीले दर्ता गर्न मानेको थिएन ।जाहेरी स्वीकार गरी आयोगमा पठाइएको थियो । तर, आयोगले फेरि प्रहरीमा फिर्ता गरिदिएको छ ।

 


Facebook Comments