विश्वकप छनोटमा नेपालले आज समूह चरणको अन्तिम खेल जापानसँग खेल्दै

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e88aa74f781.jpg

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा जापानको सामना गर्नेछ। खेल अल अमिरत क्रिकेट स्टेडियममा अपरान्ह ४:१५ बजे सुरु हुनेछ।

नेपाल र जापान दुवै टोलीले सुपर सिक्स चरणमा स्थान सुरक्षित गरिसकेका छन्। यद्यपि, समूह ‘बी’ को विजेता निर्धारण गर्न आजको खेल निर्णायक हुनेछ। विजेता टोली समूह विजेता बन्दै सुपर सिक्समा अघि बढ्नेछ भने पराजित टोली उपविजेताका रूपमा छनोट हुनेछ।

नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गर्दै सशक्त सुरुवात गरेको थियो। अर्कोतर्फ, जापानले बिहीबार कुवेतमाथि ५ विकेटको जित निकाल्दै सुपर सिक्स यात्रा तय गरेको थियो। उक्त हारसँगै कुवेत समूह चरणबाटै बाहिरिएको छ।

प्रतियोगितामा ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष दुई टोली मात्र सुपर सिक्समा प्रवेश गर्ने प्रावधान छ। सुपर सिक्स चरणपछि उत्कृष्ट टोलीले आगामी आइसिसी टी–२० विश्वकप २०२६ को लागि छनोट हुने मौका पाउनेछ। नेपाल र जापानबीचको आजको भिडन्तले सुपर सिक्सको समीकरण र आगामी रणनीतिमा महत्वपूर्ण प्रभाव पार्नेछ।


Facebook Comments