काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने
कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन समेत आवेदन दिन आह्वान


काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ। कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन समेत इच्छुक सङ्घसंस्थालाई आवेदन दिन महानगरपालिकाले आह्वान गरेको छ ।
महानगरपालिकाले १५ दिनभित्र महानगरको कृषि तथा पशुपन्छी विभागमा सम्पर्क गरी आवेदन दिन आग्रह गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका पशु चिकित्सक डा पूजा खनालका अनुसार आवेदन पेस गर्न चाहने संस्थाले आफ्नो विधान र दर्ता प्रमाणपत्रको प्रतिलिपि, कामपाको मौजुदा सूचीमा सूचीकृत भएको प्रमाणपत्र, कुकुर र बिरालो बन्ध्याकरणसम्बन्धी काम गरेको अनुभवका प्रमाणपत्र, पशु चिकित्सकको प्रमाणपत्र, पशु ओसारपसारका लागि प्रयोग हुने सवारीसाधन, सेल्टर र बन्ध्याकरण कक्ष भएको प्रमाण, भाडामा भए सम्झौता पत्र तथा बन्ध्याकरणका लागि आवश्यक सामग्रीको व्यवस्थासम्बन्धी कागजात पेस गर्नुपर्नेछ ।
संस्थाहरूले पेस गरेको सेवा उपलब्ध गराउने पूर्वाधार मूल्याङ्कन गरी अन्तिम छनोट भएका संस्थासँग सम्झौता गरेर कार्यादेश दिइने पशु चिकित्सक डा खनालले जानकारी दिइन् । उनका अनुसार, छनोट भएका संस्थाले कार्य राम्ररी सम्पादन गरेको वा नगरेको विषयमा भने नियमित अनुगमन गरिने छ । महानगरपालिकाले हरेक वर्ष साुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप सेवा प्रदान गर्दै आएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार ५०० कुकुर र बिरालोको बन्ध्याकरण गरिएको तथा १६ हजारमा रेबिजविरुद्धको खोप लगाइएको पशु चिकित्सक डा खनालले जानकारी दिइन् । आर्थिक वर्ष २०८१/८२ मा ६७० बन्ध्याकरण र १६ हजार ५६९ मा रेबिजविरुद्धको खोप लगाइएको उनले बताइन् ।
Facebook Comments