राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा गएनन् ओली, देउवा र प्रचण्ड


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आसन्न निर्वाचनलगायत विषयमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूबीच छलफल जारी रहेको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीगण र राजनीतिक दलका नेताहरू सहभागी छन्।
बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षामान पुन सहभागी छन् ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी छन् ।
यस्तै, जनता समाजवादी पार्टीबाट रेणु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति, जसपा नेपालबाट विद्युत् बज्राचार्य र प्रकाश अधिकारी सहभागी छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरूबीच पहिलोपटक संवाद हुन लागेको हो ।
Facebook Comments