आगामी निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्छः अध्यक्ष यादव

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ebafbd62fbc.jpg

मोरङ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्ने बताएका छन् ।
 
पार्टीको १ नं प्रदेश समितिको आजदेखि सुरु भएको दुईदिने एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले दलहरुको सहभागिता बिना निर्वाचन सफल हुन नसक्ने भएकाले सरकारले अविलम्ब दलहरुसँग बैठक एवं वार्ता गर्नुपर्नेमा जोड दिए ।
 
अध्यक्ष यादवले संविधानको पुनःलेखन गरी शासकीय स्वरुपमा संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा मात्र मुलुकमा राजनीतिक स्थायित्व एवं विकास सम्भव हुने बताए ।
 
उनले विगतको दुई तिहाइ सरकारको कुशासनका कारण मुलुक गरिबीतर्फ गएकाले जेनजीको आन्दोलनले सरकार दुई दिनमा ढलेको स्मरण गराए ।
 
पार्टीका सहअध्यक्ष रकम चेम्जोङले जेनजीको आन्दोलनले भ्रष्टाचारलाई किनारा लगाएको चर्चा गर्दै आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न जनतासमक्ष जानुपर्ने बताए ।
 
पार्टीका प्रदेश अध्यक्ष दीपक याक्ख्याको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री जयराज यादव, पार्टीका सचिवद्वय लाक्पा शर्मा र राजकुमार राई, नेता अर्जुन थापा, सञ्जय सिंहलगायतले जेनजी आन्दोलन भ्रष्टाचारविरुद्ध एवं जनताको हकअधिकार स्थापित गर्न भएको बताए ।
एकताको अधिवेशनमा प्रदेशका १४ जिल्ला समितिका पदाधिकारी एवं विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको छ । 


Facebook Comments