यूएईलाई १ रनले हराउँदै नेपाल विजयी


काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल यूएईसँग १ रनले विजयी भएको छ ।
आइतबार भएको खेलमा चीर प्रतिद्वन्द्वी यूएईमाथि रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।
अन्तिम ओभरमा १० रन आवश्यक हुँदा बलिङमा आएका दीपेन्द्रलाई पराशरले एक छक्का प्रहार गरेपनि लगत्तै दीपेन्द्रले उनलाई क्याचआउट गराएका थिए । त्यसपछि २ बलमा ३ रन आवश्यक हुँदा अर्को पनि रनआउटसँगै शर्ट रन भएपछि यूएईले कुनैपनि रन जोडेन र १ बलमा ३ रन चाहिँदा यूएईले १ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।
आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।
यसैबीच नेपालले सुपर सिक्समा ४ अंक बनाएको छ । नेपालले २ अंक समूह चरणमा जापानलाई हराउँदै पाएको थियो। आजै भएको सुपर सिक्सको पहिलो खेलमा कतारलाई ३४ रनले पराजित गर्दै ओमानले अंक तालिकामा ४ अंक बनाउँदै शीर्ष स्थानमा छ।
ओमानसँगै समान ४ अंक भए पनि नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ। नेपालसँग पराजित भए पनि २ अंक भएको यूएई तालिकाको तेस्रो स्थानमा छ।
Facebook Comments