काममा कानुन पल्टाउन थालेपछि तीनपाटन अध्यक्ष कर्णबहादुर अधिकृतकाे सरूवामा सक्रिय
हुँदैछ चौतर्फी बिराेध


काठमाडौं। सिन्धुलीको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले समय नपुग्दै प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीको सरूवाका प्रकृया चालेका छन् । अध्यक्ष मगरले काठमाडौंमै आएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रशासकीय अधिकृत नेगीको सरूवा गरिदिन कर्मचारीमार्फत लभिइङ गरेको स्रोतले जानकारी दिएको छ।
गत भदौको जेनजी आन्दोलनपछि प्रमुख प्रशासकीय अधिकृत नेगीले पालिकाको अर्थ व्यवस्थापनमा मितव्ययीतताका लागि भन्दै खर्च कटौती गर्न थालेपछि मनोमानी गर्न नपाएका अध्यक्ष मगर र नेगीबीच 'मनमुटाब' बढेको थियो । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको अर्थ मन्त्रालयले करारमा रहेका कर्मचारी हटाउन परिपत्र गरेसँगै नेगीले करारमा रहेका कर्मचारी हटाउने तयारी थालेका थिए । पालिकामा आवश्यक नभएका कर्मचारीलाई समेत दिइएको सवारी साधनको सुविधा कटौती गर्दै नेगीले मोटरसाइकल कार्यालयमै फिर्ता ल्याएका थिए । यसअघिका आर्थिक वर्षहरुमा तोकिए भन्दा सात गुणा बढीसम्म इन्धन प्रयोग गरेका जनप्रतिनिधिहरुलाई नेगीले तोकिएभन्दा बढी इन्धनको सुविधा पनि कटौती गर्ने तयारी थालेका थिए । अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको अनुकूलमा भन्दा पनि पालिकाको स्रोत अनुसार खर्च कटौती, मितव्ययीतता अपनाउन थालेपछि अध्यक्ष मगरको मनोमानीमा अंकुश लाग्यो । पछिल्लो समय जडिबुटी कर निकासीको ठेक्का पाएको कम्पनीले सम्झौता भएभन्दा बढी कर नागरिकसँग लिएपछि स्थानीयबासीले विरोध गरेका थिए । त्यसपछि प्रशासकीय अधिकृत नेगीले उक्त कम्पनीसँग ठेक्का तोडिदिएका थिए । यो विषयले पनि अध्यक्ष थापालाई चिढ्याएको बुझिएको छ । गएको साताभन्दा केही अघि कर्णबहादुरका मीत नै पर्ने एक स्वास्थ्यका कर्मचारीले सरकारी औषधिलाई पैसा लिएर बेचेको भन्दै स्थानीयबासीले बिरोध गर्दा पनि नेगीले कार्बाही प्रकृया अगाडि बढाएका थिए । यिनै गतिविधिले प्रमुख प्रशासकीय अधिकृतप्रति अध्यक्ष मगर रुष्ट हुँदै गएको स्रोतको दाबी छ । दोस्रो कार्यकाल पालिका अध्यक्ष सम्हालिरहेका मगरले बिस्तारै आफ्नो शक्ति कमजोर भएको महशुस गर्न थाले । उनलाई प्रमुख प्रशासकीय अधिकृतले आफूमाथि नियन्त्रण गरेको सह्य भएन । कुनै विकल्पले काम नगरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उनको सरुवाका लागि अध्यक्ष मगरले दवाव नै दिएका छन् ।
अध्यक्षले मन्त्रालयमा पठाए सरुवाको सिफारिस, उपाध्यक्षलाई पत्तै छैन
निजामति कर्मचारीको सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवाका लागि कतिपय अवस्थामा सम्बन्धित पालिकाको कार्यपालिका बैठकले मन्त्रालयमा सरुवाका लागि सिफारिस गर्न सक्छन् । तीनपाटन गाउँपालिका अध्यक्ष मगरले प्रमुख प्रशासकीय अधिकृत नेगीको सरुवाका लागि पालिकामा छलफल नै नगरी मन्त्रालयमा सिफारिस गरे । मन्त्रालयमा आफूले पत्र पठाएको अध्यक्ष स्वयमले मेयरसाप डटकमसँग स्वीकार गरेका छन् । तर उनले सरुवाका लागि सिफारिस पत्र पठाउनुको कारण भने खुलाएनन् । मेयरसाप डटकमसँगको कुराकानीमा अध्यक्ष मगरले भने, ‘प्रमुख प्रशासकीय अधिकृतको सरुवाका लागि मैले मन्त्रालयमा पत्र पठाएको छु । सरुवाको पत्र आउन बाँकी छ । मैले मन्त्रालयमा पठाएको पत्रमा सबै कारण उल्लेख गरेको छु । कतिपय विषय उहाँको व्यक्तिगत छन् । त्यसैले मिडियामा सार्वजनिक गर्न चाहन्न ।’
प्रमुख प्रशासकीय अधिकृतको सरुवाका लागि अध्यक्ष मगरले मन्त्रालयमा पठाएको सिफारिस भने उनको एकलौटी निर्णय हो । उनले कार्यपालिका बैठकबाट निर्णय गरेर मन्त्रालयमा पत्र पठाएका होइन् । यस विषयमा कार्यपालिका सदस्य त परको कुरा पालिकाका उपाध्यक्ष समेत बेखबर छन् । उपाध्यक्ष धनबहादुर पुलामी भन्छन्, ‘मैले पनि प्रमुख प्रशासकीय अधिकृत ज्यू आफैंले सुनाउनु भएपछि थाहा पाएँ । अध्यक्ष ज्यूले कहिले र किन सरुवा गर्न चाहनु भयो भन्ने बारेमा मलाई कुनै जानकारी छैन । अध्यक्षज्यूसँग यस विषयमा कहिल्यै कुरा भएको पनि थिएन् ।’
प्रखुम प्रशासकीय अधिकृत नेगीले आफू सरुवा हुँदैछु भन्ने कुरा मन्त्रालयबाट अनौपचारिक रुपमा थाहा पाए । सरुवाको कारण थाहा नभएकाले आफू पनि अचम्मित भएको उनी बताउँछन् । उनी भन्छन्, ‘नियमअनुसार काम गरिरहेको छु । पछिल्लो समय पालिकाको स्रोत अनुसार मितव्ययीता अपनाउन खर्च कटौती गर्नुपरेको छ । कार्यविधि बनाएर सोही अनुसार काम गरिरहेको छु । एक्कासी के कारणले किन सरुवा गर्न लागियो, मैले पनि बुझेको छैन ।’
‘पालिकाबाट सिफारिस भएको पत्रमा उल्लेख भएका मेरा कमजोरी, गल्ती पुष्टि भए सरुवा हुन्छ । गल्तीमा त कानुनी कार्बाही पनि होला नै । तर पुष्टि भएन भने त सरुवा हुँदैन । म सरुवाको पत्र नआएसम्म आफ्नो काम गरिरहन्छु । यति हो, कारण बुझ्न पाए ढुक्क चै हुने थियो’, नेगीले मेयरसाप डटकमसँग भने ।
मनोमानी गर्न पल्किएका अध्यक्षका लागि प्रमुख प्रशासकीय अधिकृत बने तगारो
तीनपाटनका अध्यक्ष मगरसँग बा २ झ ३६७० नम्बरको गाडी छ । अघिल्लो आर्थिक वर्षमा अध्यक्ष मगरले ५ हजार ५ सय लिटर बराबर इन्धन लिए। ऐनअनुसार अध्यक्ष मगरले वर्षमा ९६० लिटर मात्रै इन्धन प्रयोग गर्न पाउनुपर्ने हो । तर उनले त्यो भन्दा आठौं गुणा बढी इन्धन लिएर लगभग सात लाखभन्दा बढीको ‘भ्रष्टाचार’ गरेको महालेख परीक्षणको प्रतिवेदनले देखाउँछ ।
त्यसअघिका आर्थिक वर्षमा पनि मगरले लिएको इन्धन खर्च कानुनविपरीत भएको महालेखाले पुष्टि गरिसकेको छ । दुई वर्ष अघि चारलाखभन्दा बढी इन्धन सुविधा अध्यक्षले फिर्ता गर्नुपर्ने महालेखाको प्रतिवेदनले औंल्याएको थियो । अघिल्लो आर्थिक वर्षमा पनि पालिका अध्यक्ष थापाले वर्षभर चार हजार १ सय ४३ लिटर डिजेल प्रयोग गरेको भेटिएको थियो । अहिले पनि अध्यक्ष थापा आफैँले इन्धनको कुपन बोकेर हिँड्ने गरेको स्रोत बताउँछ । त्यो अधिकार कर्णबहादुरलाई छैन । प्रमुख प्रशासकीय अधिकृतले कुपनको स्वीकृत गरेपछि मात्रै जनप्रतिनिधिले इन्धन पाउने व्यवस्था छ ।
‘गत आर्थिक वर्ष २०७९/०८० मा भुक्तानी गर्न बाँकी’ शीर्षक राखेर ९ लाख ७ हजार ५०९ रूपैयाँ भुक्तानी आर्थिक वर्ष २०८०/८१ मा गरेको देखिन्छ । भुक्तानीको प्रयोजन नखुलाइ अघिल्लो वर्षको बाँकी भनेर भुक्तानी गर्नु गलत हुने महालेखाले जनाउँछ । तर यस्तो कारोबार तीनपाटनमा खुलेआम हुने गरेको छ ।
तीनपाटनमा स्वास्थ्य केन्द्रमा मितलाई प्रमुख बनाएको विषयमा पनि मगर विवादमा तानिएका छन् । मित रहेका सिनियर अहेब मोहनबहादुर दाहाललाई बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रमा आएको सरकारी औषधि बेचेर पैसा लिएको आरोपमा स्थानीयबासी र वडाका जनप्रतिनिधिहरूको सहभागितामा कार्बाही गर्न माग गरिएको थियो । तीनपाटनका प्रशासकीय अधिकृतले उनको सरूवा गराउने प्रकृया पनि अगाडि बढाएका थिए । तर अहिले पनि दाहाललाई कर्णबहादुरले बेलघारीबाट सरूवा गर्न दिएका छैन ।
गत असोज २४ गते तीनपाटन गाउँपालिकाले वडा नम्बर १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीका डाक्टर मदन विक्रम दाहालको सरुवा गर्यो। आफ्ना मीत नाता पर्ने विवादिन मोहनबहादुर दाहाललाई प्रमुख बनाउने र राम्रो काम गरेर नागरिकको मन जितेका मदन विक्रम दाहाललाई भने सरुवा गराएपछि स्थानीयले विरोध स्वरुप आज स्वास्थ्य चौकीमा ताला समेत लगाएका थिए ।
यसरी पालिकामा मनोमानी ढंगबाट काम गर्दै आएका पालिका अध्यक्ष मगरको काममा अंकुश लागेपछि अहिले उनी प्रमुख प्रशासकीय अधिकृत नेगीको सरुवा गराउन सक्रिय भएर लागेका छन् । एकातर्फ १४ महिना मात्र तीनपाटनको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका नेगीको सरुवा गर्ने समय पुगेको छैन । अर्कोतर्फ पालिका अध्यक्षले कार्यपालिका बैठकबाट निर्णय नगरी एकलौटी ढंगबाट सरुवाका लागि काठमाडौं नै धाएर लबिङ गरिरहेका छन् । यस बाट पनि प्रमुख प्रशासकीय अधिकृत नेगी अध्यक्ष मगरको बाटोमा काँडा बनेको स्पष्ट हुन्छ । अब सामान्य प्रशासन मन्त्रालयले अध्यक्ष मगरको स्वार्थपूर्ण सिफारिसमा प्रमुख प्रशासकीय अधिकृत नेगीको सरुवा गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी छ ।
Facebook Comments