गणतन्त्र र संघीयतालाई कायम राखेर गरिने निर्वाचनको कुनै अर्थ छैनः कमल थापा

User Image दिक्षान्स खड्का | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ed01bed1d91.jpg

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेनजी युवा पुस्ताको आन्दोलन हाइज्याक भएको बताएका छन् । सोमबार हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशी विदेशी शक्ति र असफल भइसकेका गणतन्त्रका अवशेषहरुले साँठगाँठ गरेर जेनजी आन्दोलनलाई अपहरण गरेको आरोप लगाए । युवाहरुले खोलेको परिवर्तनको ढोकालाई भदौ २४ गते मध्यराति बन्द गर्ने काम भएको उनले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले जुक्ति लगाएर भ्रष्ट व्यवस्था र शासकलाई जोगाएको उनको टिप्पणी छ ।

असंवैधानिक तरिकाले सुशीला कार्की प्रधानमन्त्री बनेको भन्दै उनले जनताको परिवर्तनको चाहनालाई तुहाउने काम स्वयम् प्रधानमन्त्रीबाटै भएको आरोप लगाए । असंवैधानिक सिफारिसको आधारमा संसद् विघटन गर्दा संविधान बाधक नहुने तर युवा पुस्ताको माग सम्बोधन गर्न संविधान कसरी बाधक भयो भन्दै उनले प्रश्न समेत गरे ।

अध्यक्ष थापाले अहिलेको मिश्रित निर्वाचन प्रणाली कायम राखेर भ्रष्टचार र कुशासनको अन्त्य हुन नसक्ने बताए । अध्यक्ष थापाले विगत २ दशकदेखि देशमा फैलिएको भ्रष्टाचारको जालोको मुख्य कारण संघीयता, धर्मनिरपेक्ष, गणतन्त्र र निर्वाचन प्रणाली भएको जिकिर गरे । अहिलेको निर्वाचन प्रणालीबाट लोकप्रिय दलको समेत बहुमत नआउने भएकोले सांसद्हरुको किनबेच र पुराना दलहरूको अपवित्र गठबन्धन कायम रहने उनको धारणा छ । गणतन्त्र र संघीयतालाई कायम राखेर गरिने निर्वाचनको कुनै अर्थ नहुने समेत उनले बताए ।  


Facebook Comments