गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुति दिने


काठमाडौं । गायक दुर्गेश थापाले अमेरिकाका विभिन्न ११ शहरमा सांगीतिक प्रस्तुति दिने भएका छन् । त्यसका लागि मंगलबार उनी अमेरिका उडेका छन् ।
अमेरिकाका विभिन्न ११ शहरमा उनको कार्यक्रम तय भइसकेको छ । थापाको पहिलो कार्यक्रम आगामी शुक्रबार अस्टिन टेक्सासबाट सुरु भएर नोभेम्बर २२ मा डल्लास टेक्सासमा पुगेर सकिनेछ ।
उनले न्यूयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडोलगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ । दुर्गेश टुर आरएनआर ग्रुप्स एलएलसीबाट रोशन पुरी, पाण्डे होम्स एलएलसीबाट गणेश पाण्डे र एकेबी कम्पनी एलएलसीबाट आशिष भडेलले आयोजना गरेका हुन् । साथै पिस एण्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ ।
अग्रिम टिकट लिनका लागि आयोजकले आग्रह गरेको छ । आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षा राखेको छ ।
आयोजक मध्येका एक रोशन पुरीका अनुसार पहिलोपटक अमेरिकामा रहेका नेपालीहरु माझ दुर्गेशलाई ल्याउन पाउँदा खुसी लागेको र फरक फरक ठाउँका नेपालीलाई एकै स्थानमा भेला गराउन पाउने बताए । नोभेम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा गायिका मेलिना राईको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।
Facebook Comments