चिनियाँ विश्वविद्यालयले बनायो कृषि क्षेत्रका लागि नयाँ ‘एआई मोडेल’

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ee5ef9b3ca7.jpeg

बेइजिङ । चीन कृषि विश्वविद्यालयले सोमबार बेइजिङमा आयोजित २०२५ विश्व कृषि–खाद्य नवप्रवर्तन सम्मेलनमा ‘शेननोंग ठूलो मोडेल ३.०’ सार्वजनिक गरेको छ । यससँगै कृषि क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग अझ व्यवहारिक र सर्वसुलभ बनाउने दिशामा चीनले महत्वपूर्ण कदम चालेको छ ।

मुख्य अनुसन्धानकर्ता वाङ याओजुनका अनुसार, नयाँ संस्करणले अघिल्लो संस्करणको तुलनामा पाँच प्रतिशत बढी कार्यक्षमता देखाएको छ, साथै यसले गणनात्मक भार (कम्युटिङ) पनि निकै कम गरेको छ । उनले भने, “यसको संरचना पुनः डिजाइन गरिएको छ जसले हलुका तर उच्च प्रदर्शन दिने सन्तुलन कायम गरेको छ ।”

यसअघि सार्वजनिक गरिएको ‘शेननोंग १.०’ ले कृषि ज्ञान र प्रश्न–उत्तर क्षमताको आधार बनाएको थियो भने ‘शेननोंग २.०’ मा दृश्य, आवाजजस्ता विभिन्न माध्यमबाट काम गर्ने क्षमता थपिएको थियो । अहिलेको ३.० संस्करण ती सबै आधारहरूलाई समेटेर अझ परिष्कृत बनाइएको हो ।

‘शेननोंग’ नाम चीनको प्राचीन पौराणिक पात्रबाट लिइएको हो, जसलाई कृषि तथा औषधीय जडीबुटीको ज्ञान दिनेको रूपमा चिनिन्छ । मोडेलसँगै अनुसन्धान टोलीले एउटा ‘एजेण्ट मञ्च’ पनि सार्वजनिक गरेको छ, जसले कृषि कार्यहरूलाई थप स्वचालित र सहकार्यमा आधारित बनाउनेछ । यसमा ६ वर्गमा विभाजन गरिएका ३६ विशेष कार्यहरू समेटिएको छ, जसले बीउ उत्पादन, खेतीपाती, सिँचाइलगायत सम्पूर्ण कृषि चक्रलाई समेट्छ ।

वाङका अनुसार, यी ‘एजेण्टहरू’ खेतका उपकरण र प्रविधिसँग समायोजन गर्न मिल्ने छन्, जसले कृषकलाई बिरुवा सुरक्षा, रोग नियन्त्रण तथा उत्पादन सम्बन्धी मार्गनिर्देशन जस्ता सेवा दिन सक्नेछन् । हाल यस प्रविधिको परीक्षण बेइजिङ वरपरका क्षेत्रमा, उत्तर चीनको भीत्री मंगोलिया स्वायत्त क्षेत्र तथा पूर्वोत्तर चीनको हइलोङज्याङ प्रान्तमा सुरु भइसकेको छ ।

‘शेननोंग ठूलो मोडेल ३.०’ को सार्वजनिकरणसँगै कृषि क्षेत्रमा उच्च कार्यक्षमता, प्रयोगमैत्री र प्रविधिमा आत्मनिर्भरता ल्याउने दिशामा नयाँ युगको सुरुआत भएको वाङले बताए ।

सन् २०२३ मा प्रारम्भ गरिएको यस मोडेलमा एक करोडभन्दा बढी कृषि ज्ञानसम्बन्धी चित्र, पाँच करोड आधुनिक कृषि उत्पादन अभिलेख र २० हजार कृषि पुस्तकहरूको जानकारी समावेश गरिएको छ ।

विश्व कृषि–खाद्य नवप्रवर्तन सम्मेलन अक्टोबर १२ देखि १४ सम्म आयोजना हुँदैछ, जसमा स्वदेश तथा विदेशका करिब ७८० विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनले विश्व कृषि नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने उद्देश्य बोकेको छ । 


Facebook Comments