‘अपदस्थ’ भएकाहरूबाटै सुरक्षा चुनौती थपियो : गृहमन्त्री अर्याल

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef88d642aa8.jpg

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले अपदस्थ (विस्थापित) गरेका नेताहरूबाटै राष्ट्रिय सुरक्षामा चुनौती थप्ने गतिविधि भइरहेको आरोप लगाएका छन् ।

गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले सुरक्षा समस्या अपदस्थ भएकाहरूबाट भइरहेको बताएका हुन् ।

गृहमन्त्रीले विस्थापित भएकाहरूले सुशासन दिन नसकेको र कुशासन गरेको कारणले विद्रोह भएको बोध गरी क्षमा माग्नुपर्नेमा उल्टै अहिले डुक्रिन थालेको टिप्पणी गरे ।

उनले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको भन्दै क्रान्तीकारीहरूलाई उनीहरूले आतंककारी देखिरहेको बताए ।

उनले सुशासनका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचारीहरू कानुनको दायरामा आउने चेतावनी दिए ।

गृहमन्त्रीले विगतमा बर्दीधारी सुरक्षाकर्मीलाई भान्से वा ड्राइभर बनाएर दुरुपयोग गर्नेहरूले नै अहिले शान्ति सुरक्षाको कुरा गरेको आरोप लगाए ।

उनले व्यक्तिगत सुरक्षा थ्रेट भए निवेदन दिन र सरकार सुरक्षाका लागि गम्भीर रहेको प्रतिबद्धता व्यक्त गरे ।


Facebook Comments