दोलखामा भालुको आक्रमणबाट एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिका–३ ठाडेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बैतेश्वर–३ ठाडेका ५९ वर्षीय टेकबहादुर तामाङलाई अमज बिहान घरबाट करिब २०० मिटर टाढा रहेको जङ्गलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको हो । 

जिरी इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक धन्नेद्रहाङ खुजुमका अनुसार चिकित्सकसहितको टोली साँझ घटनास्थल पुग्दा तामाङको मृत्यु भइसकेको थियो । घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा तामाङ भालुको आक्रमणमा परेको प्रहरीको भनाइ छ ।

भालुको आक्रमणबाट तामाङको खुट्टा, टाउको, शरीर र अनुहारमा गहिरो चोट लागेको थियो । दोलखाका अधिकांश स्थानमा भालु पाइने भएकाले आक्रमण भइरहने डिभिजन वन अधिकृत कृष्णराज न्यौपानले बताए । उनका अनुसार भालुको आक्रमणमा परी मृत्यु हुने परिवारलाई प्रतिव्यक्ति रु १० लाख दिने गरिएको छ । 

यसअघि  गौरीशङ्कर गाउँपालिकाका दुई जना भालुको आक्रमणबाट घाइते भएका थिए । गौरीशङ्कर संरक्षण क्षेत्र भएकाले पनि वन्यजन्तु विभिन्न स्थानमा बाँस बस्ने र ओहोरदोहोर गर्ने समयमा उनीहरूको बाटोमा परेकालाई आक्रमण गर्ने गरेका वन अधिकृत न्यौपानले उल्लेख गरे । 


Facebook Comments