निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f59b4a75844.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् राष्ट्रको मौलिक पहिचान, गौरव र सामाजिक न्यायको प्रतीक भएको भन्दै यसको संवर्द्धन र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएकी छन् । बुधबार नेपाल संवत् ११४६ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । 

‘नेपाल संवत् नेपाली धर्तीमा जन्मिएको संवत् हो । यसले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ,’ प्रधानमन्त्रीले भनिन्, ‘शंखधर साख्वाःले देखाउनुभएको सामाजिक एकता, त्याग र परोपकारको बाटो आज पनि हाम्रो मार्गदर्शक बन्न सक्छ ।’

प्रधानमन्त्री कार्कीले सम्वत्का प्रवर्तक शंखधर साख्वाःको सामाजिक योगदानको उच्च प्रशंसा गर्दै उनीप्रति श्रद्धा सुमन अर्पण गरिन् । उनले करिब ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा ऋणमा परेका नागरिकहरूको ऋणमोचन गरी सामाजिक न्यायको ऐतिहासिक उदाहरण प्रस्तुत गरेको स्मरण गराइन् ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले पछिल्लो समय देशमा देखिएको राजनीतिक सचेतना र नागरिक आन्दोलनप्रति पनि प्रतिक्रिया जनाउँदै भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।

उनले नागरिक सरकारको प्रमुख जिम्मेवारी संविधानको दायरामा रही सुशासनको सुनिश्चितता गरेको उल्लेख गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिवद्धता दोहोर्याइन् । 


Facebook Comments