जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f8af9baadab.jpg

काठमाडौं । जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि टोकियो सप्ताह हुने भएको छ ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घ संस्थाको सहकार्यमा आगामी नोभेम्वर ८ देखि १५ तारिखसम्म ‘टोेकियो सप्ताह’ हुन लागेको हो ।

जापानको टोकियोस्थित शिन्ज्युकुमा हुन लागेको उक्त सप्ताहव्यापी महायज्ञमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्ने कार्यक्रम रहेको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए ।

“जापानमा नेपालीबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउँदै आध्यात्मिक चिन्तनको उजागर गर्न र गराउन महायज्ञ कार्यक्रमको आयोजना गरिएको हो”, अध्यक्ष लामिछानेले भने। अध्यक्ष लामिछानेले एकिकृत नेपाली घर निर्माणका लागि स्रोत जुटाउने महायज्ञको लक्ष्य भएता पनि नेपालीबीच मेलमिलाप, शान्ति र सकारात्मक भाव जगाउँदै पूण्यकर्ममा सरिक गराउने उद्देश्य रहेको बताए।

एनआरएनए जापानका पूर्वअध्यक्ष नविन निउरेले जापानमा एकिकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र निर्माणका लागि टोकियोको चिवा केनमा जमिन खरीद भइसकेकाले उक्त जग्गामा भवन निर्माणका लागि महायज्ञ आयोजना गरिएको जानकारी दिए । महायज्ञले नेपाली कला संस्कृतिलाई जापानमा प्रवद्र्धन गर्न र अर्को पुस्तालाई पूर्वीय दर्शन पुस्तान्तरण गर्न एक महत्वपूर्ण कदम हुने विश्वास आयोजकले लिएको छ ।

सप्ताहव्यापी ज्ञान महायज्ञ ‘शान्तिका लागि कलशयात्रा’ बाट सुरु गरिने र हरेक दिन पूजा पाठ, प्रवचन, भजनकीर्तन र प्रसाद ग्रहण–वितरण गरिने कार्यक्रम रहेको छ । महायज्ञलाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले परिणाममुखी बनाउन विभिन्न उपसमिति समेत निर्माण गरिएको एनआरएनए जापानले जनाएको छ । 


Facebook Comments