मलाई विदेशी एजेन्ट भन्दै बदनाम गरियो : सुदन गुरुङ
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले आफूलाई ‘विदेशी एजेन्ट’ भन्दै बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा माइतीघरमा आयोजित कार्यक्रममा बोल्दै उनलेआन्दोलनलाई विभाजित गर्न भ्रम छर्ने प्रयास भइरहेको बताए ।
गुरुङले आफू नेपाली नागरिक भएको र आफ्नो नागरिकताको विवरण गोरखाका सीडीओसँग बुझ्न सकिने बताए । उनले ’आँखा चिम्से हुँदैमा भुटानी वा कालो हुँदैमा भारतीय भन्न नमिल्ने’ भन्दै खण्डन गरे ।
जेनजी आन्दोलनमा भएका गलत क्रियाकलापको छानबिन गर्ने हो भने पहिलो छानबिन महेश बस्नेतमाथि हुनुपर्ने उनले जोड दिए । गुरुङले आन्दोलनमा कांग्रेस र एमालेका कार्यकर्ताले एकअर्काको सम्पत्तिमा आगजनी गरेको र दोष जेनजीलाई दिन नमिल्ने दाबी गरे ।
उनले केपी ओलीले गोली हान्न आदेश दिएको आरोप पनि लगाए । साथै अब हुने चुनावमा पुराना पार्टीले जिते देश सय वर्ष पछि पर्ने तर्क गर्दै नेपाली जनताले कसलाई भोट हाल्ने भन्ने बुझिसकेको उनी बताउँछन् ।
गृहमन्त्री ओमप्रकाश अर्याललाई गोली प्रहार गर्नेमाथि कारबाहीबारे प्रश्न गर्दा दोषीमाथि कारबाहीको प्रक्रिया सुरु भएको जवाफ पाएको उनले जानकारी दिए ।
Facebook Comments